×

केपी ओली प्रोफेसर, डाक्टर, इन्जिनियर, आर्किटेक सबै हो- गोकुलप्रसाद बास्कोटा

images

काठमाडौं । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य गोकुलप्रसाद बास्कोटाले एमालेलाई विश्वविद्यालय र अध्यक्ष केपी शर्मा ओलीलाई भिसीको संज्ञा दिएका छन् ।

आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले हिजो (सोमबार) माओवादी सांसद माधव सापकोटा ‘सुबोध’ ले ओलीलाई ‘ हेडमास्टर’ भनेकोतर्फ लक्षित गर्दै ओली हेडमास्टरमात्रै नभएर भिसी, प्रोफेसर, डाक्टर, इन्जिनियर, आर्किटेक्च भएको दाबी गरेका हुन् ।

‘हेडमास्टर भन्नुभयो । हामी आक्रोशित छैनौं । नेकपा (एमाले) लोकतन्त्रको, राष्ट्रिय स्वाधीनताको, सामाजिक न्यायसहितको परिवर्तनको पूनर्जागरण र राष्ट्रिय आन्मविश्वास निर्माणको विश्वविद्यालय हो । तपाईँहरुले दिएको उपाधी हामीलाई पुग्दैन ।’ उनले थपे, ‘केपी ओली यो विश्वविद्यालयको भिसी हो, प्रोफेसर, डाक्टर हो, इन्जिनियर हो, आर्किटेक्च हो, सबै हो । तपाईँहरुले कम्तिमा सिक्न पाउनु भयो ।’उनले शान्ति प्रक्रिया अझै पनि नटुंगिएको विषयमा उनले माओवादीलाई प्रश्न उठाए। 

‘अहिले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई देखाएर आफू जिम्मेवारीबाट पन्छिने काम हुँदैछ। त्यसका लागि सत्ता पक्षलाई बधाई छ’, उनले भने, ‘३१ महिनासम्म माओवादीले सरकारको नेतृत्व गर्यो। बाबुरामदेखि पुष्पकमल दाहाल प्रचण्डसम्मलाई कसले रोक्यो शान्ति प्रक्रिया टुंग्याउन? कसले बर्लिन पर्खाल हाल्यो, को ग्रेट वाल बनेर तेर्सियो यो प्रक्रिया समाधान गर्न? सल्लाह र सुझाव राख्न खोज्दा उल्टै हामीलाई खेद्ने?’
 
प्रचण्डले अझै पनि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नाम लिइरहेको भन्दै त्यो एक्लो मुरली धुन नबजाउन आग्रह गरे। ‘स्वर्गीय गिरिजाप्रसादलाई देखाएर एक्लो संवादको धुन बजाएर, मुरली धुन बजाएर के पाउनु हुन्छ? हामीलाई थाहा छैन कांग्रेसका नेताहरुले यसको जवाफ दिनुपर्‍यो’, उनले अगाडि भने।

बास्कोटाले शान्ति प्रक्रिया समाधान गर्ने पक्षमा आफूहरु पनि रहेको बताए। ‘हामी पनि यो समस्याको समाधान चाहन्छौँ, ४ वर्षीया काजोल खातुनलाई कसले मार्यो? जल्लाद कि गुरिल्लाले जवाफ चाहिँदैन?’, उनले सोधे, ‘अर्जुन लामा सहिदको कित्तामा पर्दा मुक्तिनाथ अधिकारी कहाँ छन्?’

बास्कोटाले स्थानीय तह निर्वाचनमा गठबन्धनले महिलालाई रोक्ने काम गरेको पनि बताए। ‘गठबन्धनका नाममा महिलालाई रोकियो। त्यसरी नेतृत्व स्थापित हुन्छ?’, उनले भने, ‘३३ प्रतिशत महिलालाई डाइरेक्ट निर्वाचित गराउन तयार हो सत्ता पक्ष?’ प्रतिपक्षले नीति तथा कार्यक्रममा सुझाव दिँदा सत्ता पक्ष प्रतिवादमा उत्रिएर उल्टो बाटो समातेर हिँडेको उनले बताएका छन्। 

‘यो नीति तथा कार्यक्रम कथित जनयुद्धको राजनीतिको फ्युजनले कन्फ्युजनमा परेको, हात्तीको कान छामे जस्तो, मनचिन्ते दस्तावेज हो। यस्तो दस्तावेज ल्याउने अनि धारे हात हामीलाई लगाउने?', उनले भने।  बास्कोटाले सत्ता गठबन्धनले जिम्मा लिएको ताला चावीको टुंगो नभएको भन्दै सुझाव दिएको भरमा प्रतिपक्षमाथि खनिने काम भएको टिप्पणी गरे। 

मङ्गलबार ९ जेठ २०८० १२:५१ PM मा प्रकाशित

प्रतिक्रिया