पेरिस । युरोपेली च्याम्पियन्स लिग भनेपछि म्यानचेस्टर सिटीको प्रदर्शन कमजोर हुने गर्छ । अहिलेसम्म सिटीले एकैपल्ट पनि युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो उपाधि जित्न सकेको छैन् । बुधबार अन्तिम १६ को पहिलो लेगको नतिजा पनि यस्तै रह्यो । आरपी लाइपजिगले म्यानचेस्टर सिटीलाई १–१ को बराबरीमा रोकेको हो ।
जर्मनीमा भएको खेलमा भने सिटीले रियाद मेहराजको गोलको मदतले २७ औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफमा पर्याप्त अवसर सिर्जना गरेपनि सिटी त्यसलाई गोलमा परिणत गर्न असफल रह्यो र त्यसको मूल्य तिर्न बाध्य रह्यो । दोस्रो हाफमा लाइपजिगका लागि जास्को जिभार्डिलोले बराबरी गोल फर्काए ।
इन्टर मिलान भने धेरै अर्थमा भाग्यमानी रह्यो । उसले बुधबारको अर्को खेलमा एफसी पोर्टोलाई १–० ले पराजित गर्यो । सानसिरोमा भएको खेलमा पोर्टो दस खेलाडीमा सीमित भएको थियो र त्यसकै फाइदा उठाउँदै रोमेलु लुकाकुले ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । अब दोस्रो लेगका खेल मार्च १४ मा हुनेछन् ।
प्रतिक्रिया