×

नेपाल एयरलाइन्सका तीन नेपाली पाइलटलाई कारबाहीको सिफारिस

images

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का तीन पाइलटलाई कारबाही गर्न सिफारिस गरेको छ।  नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँको एटीसीको इन्स्ट्रक्सन नमानेपछि पाइलटलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको हो । 

गत शुक्रबार नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्ने क्रममा एयर ट्राफिक कन्ट्रोल (एटिसी) को निर्देशन नमानेर जोखिमपूर्ण अवतरण गरेको भन्दै पाइलटलाई कारबाही गर्न निर्देशन दिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

उनले भने, ‘विमानस्थलमा अवतरण गर्दा त्याँहाको एटीसीको नियम पालना गर्नुपर्छ । उसैको निर्देशन अनुसार अवतरण गर्नुपर्छ । तर, निगमका पाइलटहरुले त्यसलाई फलो नगरेको पाइएपछि कारबाहीको निर्देशन दिइएको हो ।’ पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरेलाई कारबाही गरिएकाे हाे। उनका अनुसार यसबारे थप प्रक्रिया वायु सेवा निगमले अगाडि बढाउने छ।

निगमले भने तीन पाइलटलाई कति समय निलम्बन गरिएको हो भन्नेबारे अहिले यकिन नभइसकेको जनाएको छ। प्राधिकरणले ती पाइलटहरुलाई बोलाएर सोधपुछ गरेपछि निलम्बन लम्ब्याउने वा नलम्ब्याउने विषयमा निर्णय हुने निरौलाको भनाइ छ । 

सोमबार ९ माघ २०७९ ०५:१९ PM मा प्रकाशित

प्रतिक्रिया