×

रवि र छवि लगायतबाट मात्र १ अर्बभन्दा धेरै बिगो मागदाबी

images

काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व उपप्रधानमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने, पूरवडिआइजी छविलाल जोशीसहित ३१ जनालाई आरोपी बनाएर जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गरिएको छ । रविकी पत्नी निकिता पौडेललाई पनि आरोपी बनाइएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आज जिल्ला अदालत कास्कीमा दायर गरेको आरोपपत्रमा लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अभियोगमा मुद्दा चलाउन माग गरेको छ । सबै प्रतिवादीहरुबाट कूल १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो अनुल्न माग गरिएको छ । यसमा रवि र छविबाट मात्र १ अर्बभन्दा बढी असुल्न माग गरिएको छ ।

लामिछानेबाट २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो असुल्न माग गरिएको छ । उनीविरुद्ध फरक फरक तीन कसुरमा मुद्दा दायर भएकोमा सम्पत्ति सुद्धीकरणमा सो बराबरको बिगो माग दाबी गरिएको हो । त्यस्तै रविका पूर्व व्यापारिक साझेदार तथा पूर्व डीआईजी छविलाल जोशीविरुद्ध ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा बिगो माग दाबी गरिएको छ ।

रवि लामिछानेपत्नी निकिता पौडेललाई प्रतिवादी बनाइएको छ । उनीसहित ५ जनालाई सम्पत्ति जफत प्रयोजनको लागि प्रतिवादी बनाइएको हो । सम्पत्ति जफतका लागि निकितासँगै पद्‌मा बन्जाडे, रोचक जोशी, राधा पछाई, मिना पछाईलाई प्रतिवादी बनाइएको छ ।

आइतबार​ ७ पुस २०८१ ०६:०७ PM मा प्रकाशित

प्रतिक्रिया