काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले भारत नभइ पहिले चीन भ्रमण गरेर अपरिपक्व काम गर्न लागेको भन्दै टिप्पणी गर्नेप्रति आपत्ति जनाउँदै त्यस्तालाई 'वाहियात' र 'कायर' को संज्ञा दिएका छन् । उनले काठमाडौंको दरबारमार्गमा एमालेको जनजागरण सभामा सम्बोधन गर्दै पहिले कहाँ जानुपर्थ्यो भन्ने कहाँ लेखको छ भन्दै प्रश्न गरेका छन् ।
‘हाम्रो स्वाधीनता, भौगोलिक अखण्डताको रक्षा गर्दै विदेश नीतिलाई सन्तुलित गर्छौं। कतिले के-केन व्यवसाय भेट्टाएजस्तो गरेर, पहिले कता जानुपर्ने कता गयो, अपरिपक्व भयो..! कस्तो हुन्छ परिपक्व भनेको? कता जानुपर्ने? धर्मशास्त्रमा लेखेको छ कि, संविधानमा लेखेको छ कि, कानुनमा लेखेको छ कि, संयुक्त राष्ट्रसंघको बडापत्रमा छ कि कहाँचाहिँ बडा परिपक्वता भेट्टाउनुभयो, यी बाहियात र कायर कुराहरू हुन्!,’ प्रधानमन्त्री ओलीले भने।
गत साता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय पत्रिका हिन्दूलाई अन्तर्वार्ता दिँदै चाइना कार्ड खेल्नका लागि ओली भारत नगइ चीन भ्रमणमा जान लागेको बताएका थिए । त्यसको एमालेले कडा शब्दमा विज्ञप्ति मार्फत् पनि खण्डन गरेको थियो ।
उनले सबै छिमेकीहरूसँग सम्मानपूर्ण सम्बन्ध राख्ने बताएका छन्। ‘पारस्परिक लाभका आधारमा सम्बन्ध र व्यवहार राख्छौं। कसैप्रति वैरभाव छैन, छैन हाम्रो शत्रु, सबै छन् मित्रु, सबै मित्रको ढंगले हामी व्यवहार गर्न चाहन्छौं,’ उनले भने।
उनले चीन भ्रमण अत्यन्त सफल हुने बताए। प्रधानमन्त्री ओलीले मंसिर १७ गतेबाट चीनको औपचारिक भ्रमण गर्दैछन्। 'म चीनबाट फर्केपछि कसरी सफल भयो भन्न म आफैँ भन्नेछु। चीन यसै घुमेर आउँ भनेर जान लागेको होइन' प्रधानमन्त्री ओलीले भने । साथै प्रधानमन्त्री ओलीले कांग्रेस-एमालेबीचको सत्ता सहकार्य २०८४ सम्मै जाने बताएका छन्। सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०८३ असारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता सुम्पिने बताउँदै उक्त कुरा बताए।
‘कान खोलेर सुने हुन्छ, सबै कुरा बुझे हुन्छ। २०८४ सम्म गठबन्धन कायमै रहन्छ। २०८३ असारमा शेरबहादुर देउवाजीलाई सरकार जिम्मा लगाउँछु। अब मैले १८ र शेरबहादुर देउवाजीले १८ महिना सरकार चलाउछौं,’ उनले भने।
साथै प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकममा आफूले ३२ अर्बभन्दा बढी लगानी गरेको भनेर भइरहेका प्रचारलाई फाल्तु कुराको संज्ञा दिए । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ओलीले ३२ अर्ब बढी लगानी गरेको भनेर लगाएको आरोपलाई यस्ता फाल्तु कुराका पछि लाग्न नहुने बताए ।
‘२१ हजार करोड डलर, स्वीस बैंकमा यति हजार ? तपाईंहरु त हेर्न जानुहुन्न । यस्ता फाल्तु कुराहरू गरेर केही हुनेछैन’, प्रधानमन्त्री ओलीले जवाफ दिँदै भने, ‘देशको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन र ध्वस्त बनाउनका लागि यस्ता कुराहरू भएका हुन् ।’
त्यस्तै प्रसाईंले बैङ्कको ऋण तिर्नुपर्दैन भनेर चलाएको हल्लालाई अराजकताको संज्ञा दिए । ‘हामी सुन्छौ कहिले बैङ्कको ऋण तिर्नुपदैन भनेर कराएर हिँड्छ । बैङ्कको ऋण लिएपछि तिर्नुपर्दैन ?’, प्रसाईं र उनको अभियानप्रति लक्षित गर्दै ओलीले भने, ‘तिर्नुपर्दैन भनेर कराएर हिँड्छ किनभने देशको अर्थतन्त्र र मौद्रिक स्थितिलाई छ्यालब्याल, अस्तव्यस्त र ध्वस्त बनाउन ।’
जनता कसैको भ्रममा नपर्ने उल्लेख गर्दै ओलीले कसले कति कमाएको छ भन्ने जनतालाई थाहा भएको तर्क पेस गरे । ‘कम्बोडिया भन्ने देश त्यहीँ छ चार घण्टाभित्र फ्लाइटमा पुगिन्छ यहाँबाट बैंकक, त्यहाँबाट ४५–५५ मिनेटमा पुगिन्छ, त्यहीँ छ’, ओलीले आरोपको खण्डन गर्दै भने, ‘त्यहाँको टेलिकममा क–कसको लगानी छ भन्ने नयाँ कुरा, थाहा पाउन नसकिने अनौठो कुरा हो र ?’
उनले कसले कति कमाएको छ, कसले कमाएको छैन र कसले आफन्तको नाममा थुपारेको छ भन्ने दुनियाँले देखेको बताए ।
प्रतिक्रिया