×

काठमाडौँका तीन स्थानमा विभिन्न समूहको प्रदर्शन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

images

काठमाडौँ — काठमाडौँका तीन स्थानमा विभिन्न समूहले प्रदर्शन गर्दै छन्।  माइतीघरमा केही दिनदेखि नै सहकारी पीडितहरूले प्रदर्शन गरिरहेका छन् भने आज सत्ताधारी नेकपा एमाले र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहले पनि काठमाडौँका फरक-फरक स्थानमा प्रदर्शन गर्ने भएका हुन्।

एमालेले दरबारमार्गमा जागरण सभा गर्दै छ। जसअन्तर्गत उसले भद्रकालीबाट र्‍याली निकालेर सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्गमा सभा गर्नेछ। दरबारमार्गमा आज एमालेको  सभालाई दिउँसो साढे एक बजे प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् ।

सभाअघि एमालेले काठमाडौंको भद्रकालीबाट र्‍याली निकाल्ने छ । र्‍याली सुन्धारा, रत्नपार्क हुँदै दरबारमार्ग पुगेर सभामा परिणत हुने छ । यो सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ । एमालेले नेतृत्व गरेको वर्तमान सरकारले गरेका कामको प्रचार र भ्रमलाई चिर्ने उद्देश्यले जागरण सभा आयोजना गर्न लागेको एमालेले जनाएको छ ।

यो सभालाई एमालेको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ । यस्तै हाल हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँको समूहले पनि कोटेश्वरमा प्रदर्शन गर्दै छ। यसरी आज एकैदिन तीन ठाउँमा प्रदर्शन हुने भएपछि जिल्ला प्रशासन कार्यालयले काठमाडौँको सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले तीन ठाउँमा प्रदर्शन हुने भएकाले आम नागरिकको जनजीवन सहज र सुरक्षित बनाउन आज ५ हजारभन्दा बढी प्रहरी खटाइएको जानकारी दिए।

त्यस्तै ट्राफिक व्यवस्थापन अस्तव्यस्त नहोस् भन्नाका लागि ५ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको जानकारी पनि उनले दिए। आज सवारी साधनको जामका कारण ट्राफिक व्यवस्थापन आज अस्तव्यस्त हुने सम्भावना देखिएको छ । त्यसैले उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सवारी रुट सार्वजनिक गरेको छ । आज सत्तारुढ नेकपा एमालेसहित विभिन्न पक्षले काठमाडौंका दुई र ललितपुरका दुई स्थानमा केन्द्रित भएर प्रदर्शनको तयारी गरेका छन् ।

एमालेले जागरण सभा नामबाट दरबारमार्गमा शक्ति प्रदर्शन गर्दै छ । सभा अघि विभिन्न स्थानबाट र्‍याली निकाल्ने एमालेले जनाएको छ । दरबारमार्गमा हुने सभाका लागि मञ्च निर्माणको काम भइरहेको छ । त्यसैले ट्राफिक प्रहरीले सो क्षेत्रमा सवारी आउ–जाउ गर्न रोक लगाएको छ ।

दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट ड्राइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । एमाले नेता विष्णु रिजालका अनुसार काठमाडौंका विभिन्न सम्पर्कविन्दुबाट ११ बजे बिहान सुरु हुने जुलुस दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ ।

यस्तै यही समयमा सहकारीमा बचत गरेको तर रकम फिर्ता नपाएका पीडितहरुको प्रदर्शन पनि जारी हुनेछ । उनीहरुले माइतीघरमा केन्द्रित भई प्रदर्शन जारी राख्ने छन् । सहकारी पीडितहरु पछिल्लोपटक मंसिर ५ गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । सहकारी ठगीमा संलग्नहरुमाथि छानबिन र कारवाही हुनुपर्ने अनि पीडितहरुको बचत फिर्ता हुनुपर्ने उनीहरुको मुख्य माग छ ।

यसैगरी दुर्गा प्रसाईं समर्थकहरुले पनि आज काठमाडौंको कोटेश्वरमा प्रदर्शन गर्ने तयारी गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानको नाम दिएर उनका समर्थकहरुले प्रदर्शन गर्न लागेका हुन् । दुर्गा प्रसाईं हाल प्रहरी नियन्त्रणमा छन् ।सरकारको नेतृत्व गरेको दल र स्वयम् प्रधानमन्त्री नै सडकमा शक्ति प्रदर्शनमा उत्रिएपछि आलोचनासमेत भइरहेको छ । विपक्षी दलका नेता कार्यकर्तादेखि समाजिक सञ्जालमा सत्तारूढ दलले नै सडकमा शक्ति प्रदर्शन गर्न नहुने भन्दै आलोचना भइरहेको छ । 

शुक्रबार​ ७ मंसिर २०८१ ११:४३ AM मा प्रकाशित

प्रतिक्रिया