×

राजाको सम्बोधन 'ड्राफ्ट' मैले लेखेकाे भनेर ओलीले सरासर झुटो बोले : रामचन्द्र पौडेल

images

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन आफूले लेखेको भन्ने कुरा झुटो रहेको दाबी गर्नुभएकाे छ । आज शुक्रवार हेटौँडामा नेपाल प्रेस युनियनको नवाैँ महाधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताउनुभएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गएकाे असार २४ गते एक सार्वजनिक कार्यक्रममा २०६३ सालको वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन आफूले 'ड्राफ्ट' गरेको दाबी गर्नुभएको थियो । वरिष्ठ नेता पाैडेलले केपी ओलीले नाटकीय रूपमा फलानो रुखमुनि बसेर सम्बोधन 'ड्राफ्ट' गरेको भने पनि त्यस बेला ओली कुनै आन्दोलनमै नरहेको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘केपी ओलीले केही दिनअघि राजाले गरेको घोषणा मैले बल्खुमा बसेर लेखेको हो भन्नुभयो । नाटकीय रूपमा फलानो रुखमुनि बसेर लेखेको हो भन्नुभयो । राजाका सचिव महाराजगञ्जमा आएर तीन पटकसम्म हामीले सच्याउँदै अनि राजाले जारी गरेको घोषणालाई केपी ओलीले मैले लेखेको वक्तव्य भनेर भने । त्यस्तो किसिमको झुटो सूचना जनतालाई दिने ? यस्ता धेरै गलत सूचना दिएर जनतालाई दोधारमा पारिएको छ । नेपाली कांग्रेसलाई मिस अन्डरस्ट्यान्डिङकाे सिकार बनाउन खोजिएको छ ।’

महाधिवेशनलाई सम्बाेधन गर्दै वरिष्ठ नेता पाैडेलले अन्तर्राष्ट्रिय शक्तिहरू र नेपालका कम्युनिस्टहरू एकताबद्ध भइ नेपाली कांग्रेस र लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र गरिरहेको आराेप लगाउनुभयाे । उहाँले गठबन्धन आजको आवश्यकता भए पनि आउँदाे चुनावमा कम्युनिस्टहरू एक ठाउँमा उभिएर कांग्रेसलाई एक्लो बनाउने काम भइरहेको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘गठबन्धन आजको आवश्यक्ता हो, किनभने आज नेपाललाई स्थिरता चाहिएको छ । कम्युनिस्टहरूले देश चलाउन सकेनन् । त्यस कारण भोलिको चुनावसम्म पनि गठबन्धनको आवश्यकता छ । नेपाली कांग्रेसभित्र पनि अहिले कम्युनिस्टसँग मिल्नुहुँदैन भन्ने छ भने कम्युनिस्टहरू भित्र पनि कम्युनिस्ट एकताको कुरा छ । माओवादीभित्र पनि एकथरि कम्युनिस्ट एकता गर्नुपर्छ भन्नेमा छन् । समाजवादी पार्टीभित्र पनि कम्युनिस्ट एकता गर्नुपर्छ भनेर जोड दिइरहेका छन् । त्यतिमात्र होइन नेपाली कांग्रेसलाई एक्लो पारेर यो देशमा अरू सबैलाई एकै ठाउँमा राखेर महागठबन्धन गराउने कोसिसहरू भइरहेका छन् ।’

वरिष्ठ नेता पौडेलले पार्टीभित्रको आन्तरिक एकतालाई विशेष जोड दिएर जान आवश्यक रहेकाे बताउनुभयो । 

शुक्रबार​ ६ साउन २०७९ ०५:५४ PM मा प्रकाशित

प्रतिक्रिया