प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नेपाली नागरिकसँग विवाह गरी आउने विदेशीहरूलाई नागरिकता दिनका लागि सात वर्षे अवधिकाे प्रावधान हटाएकोप्रति विरोध गरेको छ ।
आज शुक्रवार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार छलफलको क्रममा संशोधन प्रस्ताव राख्दै एमाले सांसदहरूले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकता दिन सात वर्षे अवधिकाे प्रावधान राख्नुपर्नेमा जोड दिएका हुन् ।
एमाले सांसद खगराज अधिकारीले नेपाली पुरुषसँग विदेशी महिलाले विवाह गर्दा अन्य सबै अधिकार पाउने तर नागरिकताको पूर्ण अधिकार भने सात वर्षपछि पाउने व्यवस्था गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाली पुरुषसँग विवाह गर्ने महिलाले अरू सबै अधिकार पाउने तर नागरिकताको पूर्ण अधिकार सात वर्षपछि पाउने व्यवस्था राखौँ भन्नका निम्ति हामीले संयुक्त संशोधन गरेका हाैँ । त्यसलाई पारित गर्न अनुरोध गर्दछु ।’
त्यस्तै सांसद विन्दा पाण्डेले पनि विवाहपछि सात वर्ष बसोवास गरेपछि मात्रै नागरिकता दिने प्रावधान राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘वैवाहिक अङ्गीकृत नागरिकता प्राप्तिको सन्दर्भमा लैङ्गिक समानताका आधारमा सुरुमा बसोवासको स्थायी परिचयपत्र लिन सक्ने प्रावधानसहित नेपाली नागरिकसँग विवाह गरेका विदेशीले नेपालमा सात वर्ष बसोवास गरेपछि लैङ्गिक समानताको आधारमा नेपाली नागरिकको विदेशी दम्पतीलाई व्यवहार गर्ने प्रावधान राखेर जाउँ ।’
प्रतिक्रिया