×

बाइडेनले छोडे राष्ट्रपतिको उम्मेदवारी, कमला ह्यारिसलाई समर्थन

images

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नो उम्मेदवारीबाट पछि हटेका छन् । आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले चर्को असन्तुष्टि जनाएपछि निर्वाचन हुनु चार महिनाअघि उनले आफ्नो उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेका हुन् । रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् ।​

उनले डेमोक्रेटिक पार्टीबाट उप-राष्ट्रपति कमला ह्यारिसको नाम राष्ट्रपति पदको उम्मेदवारको रूपमा समर्थन गरेका छन् । ‘राष्ट्रपतिको रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो । मैले फेरि चुनाव लड्ने मनसाय राखेको भए पनि आफ्नो उम्मेदवारी फिर्ता लिई आफ्नो कार्यकालको बाँकी अवधिमा राष्ट्रपतिको जिम्मेवारी पूरा गर्नमा पूर्ण ध्यान केन्द्रित गर्नु नै मेरो पार्टी र देशको हितमा हुने विश्वास लिएको छु ।’

बाइडेनको उमेरका कारण उनी नयाँ कार्यकाल राष्ट्रपतिका लागि काम गर्न सक्षम नरहेको र उनी नै उम्मेदवार रहे डोनाल्ड ट्रम्पले चुनाव जित्ने भन्दै उनको आफ्नै पार्टीबाट उम्मेदवारी फिर्ता लिन दबाब थियो । अघिल्लो महिना भएको राष्ट्रपतीय बहसमा अत्यन्तै फितलो प्रदर्शन गरेपछि उनी उम्मेदवार कायमै रहे चुनाव हार्ने निष्कर्षमा डेमोक्रेटिक पार्टीका नेताहरू पुगेका थिए ।

उम्मेदवारीबाट पछि हटेसँगै पूर्वराष्ट्रपति बिल क्लिन्टन र उनकी पत्नी हिलारी क्लिन्टनले समर्थन जनाउँदै भावी उम्मेदवारको रूपमा कमला ह्यारिसको नाम पनि अनुमोदन गरेका छन् । उनले यसै साता राष्ट्रका नाममा सम्बोधन गर्ने उल्लेख गरेका छन् । बाइडेन हाल कोभिड संक्रमणको उपचार गराइरहेका छन् ।

सोमबार ७ साउन २०८१ ११:१५ AM मा प्रकाशित

प्रतिक्रिया