×

जोखिम उठाएरै भए पनि वाम एकताको प्रयास छोड्नु हुँदैन : प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जोखिम उठाएरै भए पनि कम्युनिस्ट शक्तिहरू एकता र सहकार्यमा जानुपर्ने बताएका छन्। नेकपाका संस्थापक नरबहादुर कर्माचार्य प्रतिष्ठानले सोमबार ललितपुरको च्यासलमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । 

‘सहकार्य र एकतामा जानैपर्छ। जोखिम उठाउँदै अगाडि बढ्नु आजको आवश्यकता हो,’ प्रचण्डले आफूसँगै मञ्चमा रहेका एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालतिर हेर्दै भने, ‘जोखिम छ तर राष्ट्रिय स्वाधीनता, कम्युनिस्ट भविष्य र वामपन्थी एकताका लागि चुनौती उठाउनैपर्छ। हामी त्यही बाटोमा छौँ।’

विगतमा चुनाव मिलेर लडेको र पार्टी एकता गरेको तर बचाउन नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘०७४ को चुनावमा जे प्रयोग हामीले गर्यौँ । त्यो एकताको प्रयोग थियो र त्यसलाई जनता र आम नेता, कार्यकर्ताले अनुमोदन गरेको पनि हो । विभिन्न कारणले त्यसलाई बचाउन सकेनौँ । तर एकपटक असम्भव भयो भन्दैमा सही कामको निम्ति हामीले प्रयासलाई छोड्न हुँदैन । हामी निरन्तर प्रयास गरी नै राख्नुपर्छ ।’

उनले भने, समाजवाद चाहने जति कुनै न कुनै रूपको सहकार्य र एकताको पक्षमा उभिनुपर्छ। स्वाधीनताका निम्ति, वामपन्थी सहकार्यका निम्ति, आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ।’ प्रधानमन्त्रीले विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्नु आजको आवश्यकता भएको बताए । 

सोमबार १० बैशाख २०८१ १०:५६ AM मा प्रकाशित

प्रतिक्रिया