×

मेन्छियाम हाइड्रोपावरको आइपिओ खुल्यो 

images

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले, साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। बुधबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि  आइपिओको बिक्री खुला गरिएको सो सो कम्पनीले जनाएको छ । 

जारी पुँजी  ५४ करोड २५ लाख ८३ हजार तीन सयको १० प्रतिशत अर्थात्  पाँच करोड ४२ लाख ५८ हजार तीन सय रुपैयाँ बराबरको प्रतिसेयर एक सयका दरले पाँच लाख ४२ हजार पाँच सय ८३ कित्ता सेयर आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाका स्थानीय बासिन्दाको लागि सेयर निष्कासन गरेको हो ।

यसमा अतिप्रभावित क्षेत्र सङ्खुवासभाको साविक सिद्धिकाली, सिद्धपोखरी र मावादीन गाविसका बासिन्दालाई दुई लाख ७१ हजार दुई सय ९२ कित्ता र अतिप्रभावित क्षेत्रबाहेक सङ्खुवासभाका बासिन्दामा दुई लाख ७१ हजार दुई सय ९१ कित्ता छुट्याइएको छ । त्यस्तै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुने एक लाख आठ हजार पाँच सय १७ कित्ता सेयर वैदेशीकमा रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरिएको कम्पनीले जनाएको छ ।

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृतिप्राप्त गरी विदेश गएका नागरिकले मात्रै सो सेयर खरिद गर्न पाउनेछन् । स्थानीय लगानीकर्ताले सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ । सङ्खुवासभामा चार दशमलव ७२ मेगावाट क्षमताको माथिल्लो पिलुवाखोला–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनीलाई केयर नेपालले ‘केयर एनपी बिबी इस्युअर’ प्रमाणपत्र प्रदान गरेको छ । 
 

बुधबार १० फागुन २०७९ ०१:३६ PM मा प्रकाशित

प्रतिक्रिया