×

मुद्दा चलिरहेको व्यवसायीबाट जग्गा दान लिएर प्रधानमन्त्रीले यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरे

images

 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्त्रीले नै यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेको बताएका छन्। सोमबार जुम्लामा प्रेस सेन्टरले गरेको भेटघाटमा पूर्व प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारमा मुद्दा लागेका व्यक्तिबाट जग्गा दान लिएर प्रधानमन्त्री आफैँले पुष्टि गरेको बताएका हुन् । ‘प्रधानमन्त्रीको काम भ्रष्टाचारलाई प्रश्रय दिने हो भन्ने कुरा आफैले पुष्टि गरेको स्थिति छ’, प्रचण्डले भने, ‘तैपनि हामीले सरकारलाई सय दिनसम्म हनिमुन पिरियड भनिन्छ । त्यो बेला सम्म हामीले खासै विरोधका कार्यक्रम गरेका थिएनौ छैनौँ ।’  
 
‘मैले उतिबेला नै भनेको थिएँ, यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो, भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो, सरकार गठनको तीन महिना पुग्दै छ, तपाईंहरुले सबै देखिरहनुभएको छ’, अध्यक्ष प्रचण्डले भने, ‘मेरो नेतृत्वको सरकारले जसलाई राज्यको जमिन जबर्जस्ती व्यक्तिमा नाममा लैजाने जस्तो ठगी गरेको कारण गिरफ्तार गरेको थियो र अदालतमा मुद्दा पनि चलिरहेको छ, तिनै व्यवसायीबाट जग्गा दान लिने जस्तो कार्य गरेर प्रधानमन्त्री आफैँले यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन्।’

उनले सरकारको सय दिन कट्ने वित्तिकै विरोध गर्ने पनि बताए । ‘सय दिन पुगेपछि विरोध सुरु हुन्छ’, प्रचण्डको भनाई छ । आजै विपक्षीका तर्फबाट सरकारलाई ज्ञापन पत्र बुझाउने र विरोधका कार्यक्रम सुरु गर्ने प्रचण्डको भनाइ छ ।   

पहिलो र दोस्रो पार्टी मिलेर तेस्रो पार्टीलाई धकेल्ने काम गरिएको बताउँदै उनले यो अस्वाभाविक भएको बताए । ‘अप्राकृतिक ढंगले प्रतिनिधि सभामा भएका पहिलो र दोस्रो पार्टी मिलेर तेस्रो पार्टीलाई बाहिर निकाल्ने काम गर्नुभएको छ । यो सामान्यत संसदीय लोकतन्त्र भनिने ठाउँमा यस्तो हुँदैन,’ उनले भने, ‘…पहिलो र दोस्रो दल मिलेर सरकार बनाएको कहिल्यै सुनिँदैन ।’

उनले भने, ‘देशमा महत्वपूर्ण उपलब्धि भइरहेको बेला हामीले भ्रष्टाचारीलाई कारबाही बढाउँदै लगेको देखेपछि खासगरी नक्कली भुटानी शरणार्थीसँग सम्बन्धित केही फरार अभियुक्तलाई गिरफ्तार गरेपछि बूढानीलकण्ठ र बालकोटमा निकै ठूलो भूकम्प गयो र रातारात अस्वभाविकरुपमा सरकार बनाइयो।’ 

सोमबार ५ कात्तिक २०८१ ०२:२८ PM मा प्रकाशित

प्रतिक्रिया