ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र अक्सिजन प्लान्टमा विष्फोट हुँदा थप एक जनाको ज्यान गएको छ । भारतीय नागरिक राजकुमार महतोको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
यसअघि भारतकै नागरिक वृजकुमार महतोको घटनास्थलमै ज्यान गएको थियो । घटनामा घाइते भएकामध्ये पाँच जना डिस्चार्ज भएका छन् । एक जनाको भने उपचार भइरहेको छ ।
औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा आज बिहीवार बिहान अक्सिजन भर्ने क्रममा विष्फोट भएको प्रहरीको भनाइ छ ।
यसैबीच गृहमन्त्री बालकृष्ण खाणले अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाणले गृह सचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिनुभएको हो ।
यस्तै दुर्घटनास्थलको निरीक्षणका लागि पुग्नुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मृतकको परिवारले पाउने राहत सरकारले तत्काल दिने बताउनुभयो । उहाँले घाइतेहरूलाई सरकारले उपचार गर्ने पनि प्रतिबद्धता जनाउनुभयो ।
प्रतिक्रिया