काठमाडौं । काठमाडौं भित्रने त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग आइतबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन अवस्थामा रहेको सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा पहाड कटान गर्नुपर्ने भएकोले नागढुङ्गदेखि मुग्लिनसम्मको सडक पुस ७ गते आइतवारदेखि पुष १३ गते शनिवारसम्म दैनिक बिहान ११ बजेदेदेखि दिउँसो २ बजेसम्म आंशिक रूपमा बन्द गरी काम गर्ने भएको हो ।
जिल्ला प्रशासन कार्यालय धादिङमार्फत नागढुङ्गा-मुग्लिन सडक आयोजनाले एक सूचना जारी गर्दै सो राजमार्गहरू भएर सङ्घीय राजधानी प्रवेशका लागि आउने र राजधानीबाट बाहिरिने सबै सवारीका साधनहरूले आफ्नो लेन अनुसारको अनुशासनमा रही सवारी चलाउन र ट्राफिक नियमको पालन गर्न सवारी चालकहरुलाई आग्रह समेत गरेको छ ।
सो समयमा अत्यावश्यक सवारीका साधनहरू बिरामी बोकेका एम्बुलेन्स, प्रहरीका सवारी र दमकलजस्ता सवारी साधनहरू भने चल्न पाउने छन् । सो राजमार्ग हुँदै दैनिक सत्र हजारको हाराहारीमा सवारीका साधनहरू गुड्ने गरेका छन् ।
प्रतिक्रिया