काठमाडौं । पार्टी निर्णय बिपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले भीम रावल सहित तीन जनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सचिवालयको आइतबारको बैठकले पूर्व उपाध्यक्ष भिम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
नेतृ पाण्डेसहित रावल र तिम्सिनाले पार्टीले जग्गा दान लिएकोबारे आलोचना गरेका थिए । पाण्डेले त व्यवसायी मिनबहादुर गुरुङले पार्टी कार्यालय भवन बनाउन जग्गा दान लिएको विषय फिर्ता गर्नुपर्ने बताएकी थिइन् । उनले उक्त निर्णय सच्चाउन पार्टी नेतृत्वलाई सुझाव समेत दिएकी थिइन् ।
गत असोज २४ गते गुरुङले कीर्तिपुरमा दिएको ११ रोपनी जग्गामा पार्टी कार्यालय बनाउने एमालेले निर्णय गरेको थियो भने २५ गते गुरुङसहित एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलान्यास गरेका थिए ।
एमाले महासचिव शंकर पोखरेललले पार्टीको निर्णयविरुद्ध अभिव्यक्ति दिएकाले स्पष्टीकरण सोधिएको जानकारी दिए । उनीहरुले व्यापारीबाट मीनबहादुर गुरूङबाट जग्गा दान लिएर पार्टी भवन निर्माण गर्ने कुरा गलत भएको भन्दै अभिव्यक्ति दिएका थिए । रावलले त अन्य अन्य विषयमहरूमा पनि यसअघि देखि नै बोल्दै आएको महासचिव पोखरेलले बताए ।
'केन्द्रीय कार्यालयको भनव निर्माणको बहसमा पार्टी निर्णयको विरुद्धमा जाने नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ । पार्टीको नीतिसँग असहमत भइ विचार प्रकट गर्ने पूर्व उपाध्यक्ष भीम रावललाई पनि स्पष्टीकरण सोध्ने निर्णय छ' महासचिव पोखरेलले बैठकपछि भने,'के कति कारणले त्यस्ता गतिविधि गर्नुभएको भन्ने सोधिएको छ ।'
प्रतिक्रिया