×

सुदूरपश्चिममा कोरोना सङ्क्रमण बढ्दै

images

भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । यहाँ हाल दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । 

गत शनिबार अर्थात् असार ३२ गते शून्यमा झरेको सङ्क्रमण मङ्गलबारमात्रै यस प्रदेशमा नौ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालयको तथ्याङ्कानुसार गत शनिबार कोरोना सङ्क्रमण शून्य रहेकामा आइतबार तीन, सोमबार सात र मङ्गलबार नौ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमण भारतबाट नेपाल भित्रिरहेका व्यक्तिमा देखिएको छ । मङ्गलबार गड्डाचौकी नाकामा सात र गौरीफन्टा नाकामा दुई जनामा सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।  

जोखिम बढ्दै गएकाले सतर्कता अपनाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । जोखिम बढेकाले  कायमै रहेकाले  यहाँका भारतसँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ ।  पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सीमा क्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो  । उहाँले भन्नुभयो, “सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर आवश्यक जनशक्ति परिचालन गरेर परीक्षण र खोपको काम निरन्तररूपमा भइरहेको छ ।”

यसका साथै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई प्राथमिकतामा राखिएको  छ । पाँच वर्षमाथिका सबै बालबालिका र बुस्टर डोजको मात्रा पनि सबैलाई दिइने कार्य निरन्तररूपमा भइरहेको जनाइएको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा समेत कोरोना सङ्क्रमण बढेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्यरूपमा पालना गर्न निर्देशनालयको आग्रह छ ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म पाँच लाख ५४ हजार ८८२ जनाको कोरोना परीक्षण गरिएकामा ५९ हजार ७६० जनामा सङ्क्रमण भइसकेको छ ।  सङ्क्रमणकै कारण यस प्रदेशमा ६३३ जनाको ज्यान गइसकेको छ ।  

बुधबार ४ साउन २०७९ १०:५६ AM मा प्रकाशित

प्रतिक्रिया