×

अब विश्वासको मत लिने अवस्था आउँदैन, यो गठबन्धन ५ वर्षसम्म टिक्छ- माधव नेपाल

images

काठमाडौँ । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले वैशाखमा विश्वासको मत लिने अवस्था आउछ कि भन्नेमा आशंका भएपनि यो गठबन्धन पाँचै वर्ष जाने बताएका छन् ।  सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथिको प्रस्तावमाथि छलफलमा भाग लिँदै नेता नेपालले वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष जाने ठोकुवा गरेका हुन् ।

गत २६ पुसमा विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभामा फेरि विश्वासको मत मागेका छन् । त्यस क्रममा एमाले र राप्रपाका नेताहरुले प्रधानमन्त्रीले दुई दुई महिनामा विश्वासको मत लिने अवस्था त आउने होइन भनेर प्रश्न गरेका थिए ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने त्यस्तो अवस्था नआउने आफूलाई विश्वास रहेको बताए । ‘त्यो अवस्था आउँदैन भन्ने कुराको मलाई विश्वास छ । अब यो गठबन्धन आउने ५ वर्षसम्म टिक्छ, राजनीतिक स्थायित्व दिन्छ, देशलाई विकासको बाटोमा अगाडि बढाएर लिएर जान्छ, राष्ट्रको सबै चुनौतीहरुको सामना गर्न यो गठबन्धन एकतावद्ध भएर अगाडि बढ्छ’ उनले भने ।

प्रचण्डले नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बने पनि गठबन्धन फेरेर अहिलेको अवस्था आउँछ भन्ने आफूलाई पहिल्यै लागेको उनले बताए । बैठकमा बोल्दै उनले व्यंग्यात्मक रुपमा एमाले नेतृत्वको गठबन्धन टुट्नुको कारण विश्वविद्यालयका विद्यार्थीलाई खोजी गर्न जिम्मा दिन आग्रह गरे ।

‘यहाँ कुरा सुन्दा म पनि अन्योलमा परेको छु । प्रचण्डजी प्रधानमन्त्री भएको गठबन्धनको प्रमुख घटकलाई घोक्रयाएर निकालियो भन्ने पनि सुनियो । घोक्रयाएरै निकाल्ने काम किन गरियो ? त्यसको पनि जवाफ हामी पक्कै थाहा पाउनेछौं । घोक्रयाएर निकालियो भन्ने पनि मैले सुने अर्कोतर्फ आफै निस्किनुपर्ने अवस्था बन्यो भन्ने पनि मैले सुने ।

म आफैं अलमलमा परें’, उनले भने, ‘मैले सोचे हाम्रो देशको कुनै विश्वविद्यालयका विद्यावारिधि गर्ने विद्यार्थीलाई खोज र अनुसन्धान गर्ने जिम्मेवारी दिनुपर्छ कि ? के कति कारणले गर्दा त्यतिखेर कायम भएको गठबन्धन टुट्यो ? के कारणले नयाँ गठबन्धन निर्माणको अवस्थामा पुग्यो ?’

सोमबार ६ चैत २०७९ ०४:११ PM मा प्रकाशित

प्रतिक्रिया