×

यताउति सोच्यौं भने घर न घाटको हुन्छौं: माधव नेपाल

images

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामपन्थी शक्ति मिलेर सरकार बनाउने कुरा अलमल्याउने कुरा मात्र हुने बताएका छन् । नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष नेपालले कस्तो किसिमको सरकार बन्ला भन्ने विषयमा पनि चर्चा उठेकाले दायाँबायाँ लागे आफूहरु घर न घाटको हुने बताएका हुन् ।

उनले कसैको पनि बहुमत नआएको स्थितिमा गठबन्धनकै सरकार बन्ने बताए ।‘कसैको पनि बहुमत नभएको हुनाले कस्तो किसिमको सरकार बन्ला भन्ने विषयमा पनि व्यापक चर्चाको विषय बनेको छ।’ उनले भने,‘कसैले गैर बामपन्थी सरकारको कुरा उठाउने गरेको छ । त्यो पनि ख्याली पुलाव मात्रै हो । कसैले बामपन्थीको मात्रै सरकार बनाउ भनेर सोचिरहेको छ त्यो पनि अल्मल्याउने कुरा मात्रै हो । त्यसो हुनाले यो कुरालाई सजिलै पत्याउन सक्दैनौ । भएको विश्वास गुमाउने, हुँदै नभएको विश्वास गरेर हामी घर न घाटको हुने त्यस्तो गल्ती हामी गर्न सक्दैनौं । त्यसो हुनाले हामी गठबन्धनलाई कायम राख्नेछौं । ’

उनले अहिले नै नेकपा एमालेसँग मेलमिलाप हुन सक्ने सम्भावना नभएको पनि संकेत गरे । ‘एकातर्फ हामीले मित्रहरुको खोजी र पहिचान पनि गर्ने र मान्छेमा परिवर्तन र रुपान्तरण भइरहेको छ भने, आत्मालोचना देखिएको छ भने साँच्चै सुध्रिएको अवस्था देखिएको छ भने आग्रह पालेर नबस्ने, यो दुईवटै कुरामा उत्तिकै ध्यान दिएर चल्नुपर्छ’ उनले भने । २०७४ को चुनावमा आएको जनादेशबाट राम्रो शिक्षा लिएर अगाडि बढेको भए अहिले बेग्लै नतिजा आउने भन्दै उनले तर सबै कुरा आफूहरुको हातमा नभएको बताए । ‘वास्तवमा २०७४ सालको जनादेशबाट शिक्षा लिएर राम्रो ढंगले अगाडि बढेको भए बेग्लै परिणाम आउँथ्यो’ उनले भने, ‘तर हामीले चाहेर मात्र घटनाक्रम अगाडि बढ्दैन, विभिन्न पात्रको भूमिकाले ठूलो प्रभाव पार्छ ।’

अध्यक्ष नेपालले अहिलेकै गठबन्धन कायम राख्ने भनेर संयुक्त वक्तव्य जारी गरिसकेको भन्दै गठबन्धनकै सरकार बन्ने बताए । ‘गठबन्धन हामी कायम राख्नेछौं, गठबन्धन दलका नेताले सँगसँगै जाने संयुक्त वक्तव्य जारी गरिसकेका छौं । गठबन्धनकै सरकार बन्ने आशा गरेका छौं’ अध्यक्ष नेपालले भने, ‘गठबन्धन दलका अरु पार्टी र पार्टीभित्रका नेताहरुमा अहंकार छ भने, उनीहरुलाई चाहिएको छैन भने जस्तो परिस्थिति आइलाग्छ, त्यसको सामना गर्न हामी तयार छौं ।’
 

सोमबार ४ पुस २०७९ ०४:१४ PM मा प्रकाशित

प्रतिक्रिया