काठमाडौं । कर्णाली याक्सलाई हराउँदै जनकपुर बाेल्टस फाइनलमा प्रवेश गरेकाे छ। अब एनपिएलको उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्ने भएका छन्। त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई दुई विकेटले पराजित गरेको हो ।
कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा विकेट गुमाएर पूरा गर्यो। जनकपुरका लागि जिमी निशामले सर्वाधिक ४५ रन बनाए। उनले १७ बलमा दुई चौका र ५ छक्का प्रहार गरे। यस्तै हर्ष ठाकेरले १७ तथा आकाश त्रिपाठीले १३ रन बनाए।
कर्णालीका लागि बिपिन शर्माले तीन विकेट लिए। यस्तै कप्तान सोमपाल कामी, जिशान मक्सुद र विलियम बोसिस्टोले समान एक एक विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ओभरमा ९ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो। कर्णालीको लागि गुल्सन झाले सर्वाधिक २५ रन बनाउँदै ओपनर देव खनालले २४ रन बनाएर आउट भए। विलियम बोसिस्टो १४, जिसान मक्सुद र युनिस ठकुरीले समान १२ १२, चाडविक वाल्टनले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
यता, बलिङतर्फ जनकपुरका लागि ललितनारायण राजवंशी , जिमि निसम र मोहम्मद मोहसिनले समान दुई विकेट लिए। हर्ष ठाकेर र शेर मल्लले समान एक विकेट हात पारे। कर्णाली एलिमिनेटरमा चितवनलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो भने जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित हुँदै दोस्रो क्वालिफायरमा आएको हो।
प्रतिक्रिया