काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ गरेको भन्दै पार्टीका नेता-कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् । शनिवार काठमाडौँको माइतीघरमा भेला भई पार्टीका नेता/कार्यकर्ताहरूले पार्टी सभापति लामिछाने पक्राउ परेकोमा विरोध जनाएका हुन् ।
रास्वपा सभापति लामिछानेलाई सहकारी प्रकरणमा रकम हिनामिना गरेको आरोपमा अदालतको अनुमतिपछि प्रहरीले शुक्रवार साँझ पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा पठाएको थियो ।
सभापति लामिछानेमाथि सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुनेछ । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।
यसैगरी रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले सरकारले आफ्नो पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रतिशोध साँधेर कुशासनबाट विषय मोड्न खोजेको आरोप लगाएका छन्।
वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै कसैलाई आफ्नो राजनीति जोगाउन रविलाई पक्राउ गर्न लगाएको आरोप समेत लगाए। महामन्त्री थापाले सहकारी छानबिन विशेष समिति बन्नुपूर्व लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको बताएका थिए।
संसदीय छानबिन विशेष समितिले पनि गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा विभिन्न सहकारीमार्फत रकम ल्याइ हिनामिना गरेको निष्कर्ष निकालेको थियो। सहकारीको ८७ अर्ब भ्याउन, सहकारी डिभोर्स लुकाउन, गिरिबन्धु र शरणार्थीको फाइल लुकाउनलाई रवि लामिछानेलाई पक्राउ गरिएको आरोप वाग्लेको छ।
‘कसैलाई आफ्नो राजनीति जोगाउन उसलाई सिध्याएरै छोड्नु थियो। कसैलाई सहकारीको ८७ अर्ब भ्याउनु थियो। कसैलाई सहकारी डिभोर्स लुकाउनु थियो। कसैलाई गिरिबन्धु र शरणार्थीको फाइल लुकाउनु थियो। कसैलाई ललितानिवासलाई दक्षिणमा बदलेर गोजी भर्नुथियो। कसैलाई लुटको रंगशालामा बाँचुन्जेल फुटबल हान्नुथियो। कसैलाई आफूसँगैको साथी माथि पुगेकोमा खुट्टा तान्नु थियो। मीनबहादुर गुरुङविरुद्धको मुद्दा केपी ओलीले अघि बढाउलान्, उनको सेटिङको लागि हो,’ वाग्लेले भने।
शनिबार पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि आयोजना गरिएको विरोध प्रदर्शनको सभामा उनले संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले नै एक त्यान्द्रो प्रमाण नभएको बताएको भन्दै सहकारीको रकम अपचलनमा रवि लामिछानेको कुनै भूमिका नरहेको जिकिर गरे।
‘कोही तीन करोडको घडी लगाउने, यहाँ रवि लामिछानेलाई हतकडी लगाएर पोखरा ल्याउन आवश्यक थिएन। यो प्रतिशोध साँधिएकै हो। बदला लिएकै हो। अहिलेको कुशासनबाट विषय मोड्न खोजिएकै हो। आफ्नो अक्षमता लुकाउन खोजिएकै हो,’ वाग्लेले भने।
साथै उपसभापति डोलप्रसाद अर्यालले पार्टी सभापति लामिछानेलाई सिध्याउन सके रास्वपा सिध्याउन सकिन्छ भनेर कांग्रेस एमाले लागेको बताए ।
उनले रास्वपा रवि लामिछानेको लागि नभई नयाँ पुस्ताका लागि केही गर्न आएको पार्टी भएकोले अभियान सक्काउन नदिन सबैलाई आग्रह गरे । आफ्नो स्वार्थ पूरा गर्न राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको र संसदीय छानबिन समितिले समेत सहकारीको रकम ऋण लिएको नभेटेको बताए । दुई तिहाइको दम्भका आधारमा पक्राउ गरेको बताउँदै सरकार मरे पनि न्यायालय नमरेकोले न्याय पाउने विश्वास व्यक्त गरे ।
कसैको राजनीति बचाउनका लागि रवि लामिछानेलाई आहुति दिन खोज्नु पुराना दलहरूलाई महँगो पर्ने बताए । उनले सहकारी पीडितहरूको बचत फिर्ता गराउने कुरामा सरकारलाई मतलब नभएकोले अब बचत फिर्ता गराउने कुराको नेतृत्व रास्वपाले गर्ने उल्लेख गरे । उनले संसदीय समितिको प्रतिवेदन आएको ३ महिनासम्म पनि सरकारले कुन बैठकले सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने निर्णय गरेको छ भन्दै प्रश्न गरेका छन् ।
सोही क्रममा रास्वपाका सांसद शिशिर खनालले निष्कर्षमा पुगिसकेको विषयलाई प्रतिशोध साँध्नु राजनीतिक खेल भएको भन्दै यसका विरुद्धमा सडकमा उत्रिएको बताए ।
उनले भने, ‘सहकारीको रकम रवि लामिछानेले प्रयोग गरेको भनेकै आधारमा सहकारी छानबिन समिति बनेको हो । तर लामिछानेको संलग्नतामा सहकारीबाट पैसा प्रवाह भएको कतैबाट पनि प्रमाण नभेटिएपछि समितिले आफ्नो प्रतिवेदनमा लेखिसकेको छ । प्रमाण नै नभेटिएपछि क्लिन चिट पाएको विषय हो । समिति, सिआइवीलगायत अन्य निकायले छानबिन गरेर निष्कर्षमा पुगिसकेको विषयमा फेरि हिजो पक्राउ पुर्जी थमाएर राजनीतिकरण गरिएको छ । त्यही भएर आज हामी सडकमा आएका हौँ ।’
साथै पार्टीका सहप्रवक्ता मनिष झाले भ्रष्टाचार अन्त्य र सुशासनका लागि आफू शहीद बन्न तयार रहेको बताए ।
सभापति लामिछाने पक्राउको विरोधमा शनिबार पोखरामा आयोजित विरोध कार्यक्रममा सम्बोधन गर्दै उनले अहिले सरकारमा रहेका दलहरु भ्रष्ट रहेको र उनीहरुलाई ठीक पारेरै छाड्ने बताए ।
शुक्रबार रवि लामिछानेले पक्राउअघि ‘यदि मलाइ जीवित छोडे भने भ्रष्टाचारी कसैलाई छाड्दैनौं’, भनेको भन्दै सहप्रवक्ता झाले भने, ‘रवि दाइ मर्न तयार हुनुहुन्छ भने म पनि मर्न तयार छु ।’
उनले अगाडि भने, ‘यिनीहरुलाई रगत चाहिएको हो, हामी रगत दिन तयार छौं, शहीद चाहिएको हो, यो दलको शहीद छैन भनेको होइन, म शहीद बन्न तयार छु, तर यो देश अब परिवर्तन गरेरै छोड्ने हो ।’
रवि लामिछानेको पक्राउलाई अहिलेको सत्तारुढ दलहरुले अन्तिम हतियारको रुपमा प्रयोग गरेको झाले बताए । ‘यिनीहरुसँग अन्तिम हतियार थियो, अन्तिम हतियार र अन्तिम भोज हो, अब हामी नयाँ यात्रा सुरु गर्छौं, अब देखाउँछौं कि यो देशमा राजनीति कस्तो हुन्छ ?’
यसको साथै, उनले लामिछाने र रास्वपालाई सिद्ध्याउने षड्यन्त्र भएको भन्दै यसको विरोधमा लगातार सडकमा आउने बताए ।
उनले भने, ‘अध्यक्षविरुद्ध नयाँ प्रमाण निर्माण गर्ने सुरसारमा भएको जस्तो लाग्छ । हामीले राजनीतिक रूपमा भनेको त्यो हो । भएका प्रमाण छरपस्ट छन्, छानबिन गर्न, बयान दिन उहाँ पहिलैदेखि तयार हुनुहुन्थ्यो । थुनामा किन राख्नु पर्यो । हिरासतमा सडाएर रास्वपा सकिहाल्छ भन्ने सङ्कीर्ण मानसिकताबाट उहाँहरूले यसलाई अगाडि बढाउन खोज्नु भएको छ ।’
प्रतिक्रिया