×

पोखरा पुर्‍याइयो रविलाई,, भोलि अदालतमा उपस्थित गराइने

images

काठमाडौं। सहकारी ठगी र संगठित अपराध सम्बन्धी आरोपमा शुक्रबार काठमाडौंबाट पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई शनिबार विहान ३ बजे पोखरा पुर्‍याइएको छ।  सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि   सभापतिलाई  लामिछानेलाई पोखरा ल्याइएको हो ।

जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँर्द राति नै पोखरा ल्याइएको हो । सहकारीको साढे ६५ करोड रुपैयाँ भन्दाबढी रकम अपचलन गरी गोर्खा मिडियामा लगेको आरोपमा गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक उनलाई पक्राउ गरी पोखरा ल्याएपछि स्वास्थ्य परिक्षणपश्चात जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ।

लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्‍याउने बेला उनका समर्थकहरूले केहीबेर नाराबाजीसहित अवरोध गरेका थिए। कास्की जिल्ला अदालतले प्रहरीलाई शुक्रबार अनुमति दिएसँगै लामिछानेलाई पक्राउ गरेर लगिएको हो।

पोखरा लगिएका लामिछानेलाई शनिबार सार्वजनिक विदा परेकाले अदालत पेस गरिने छैन। उनलाई आइतबार मात्र अदालत पेस गर्ने तयारी प्रहरीको छ।

लामिछानेविरुद्ध सहकारी रकम अपचलन र संगठित अपराध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि म्याद थप गर्न अदालतसँग अनुमति माग गरिने छ। म्याद थपको अनुमति पाए पछि प्रहरीले लामिछानेविरुद्ध सहकारी रकम ठगी र संगठित अपराधविरुद्ध अनुसन्धान अघि बढाउने छ। लामिछानेलाई पोखरा पुर्‍याइएसँगै रास्वपाका प्रभावशाली नेताहरू पनि पोखरा नै केन्द्रित भएका छन् । दुई उपसभापति डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले, तोशीमा कार्कीलगायतका नेताहरू पनि पोखरा पुगेका छन् । 

रास्वपा कार्यकर्ताहरूले आज बिहान ११ बजे मानवअधिकार चोक, पोखरामा विरोध प्रदर्शन गर्ने भएका छन् ।  त्यसो त लामिछानेलाई नियन्त्रणमा लिनेबित्तिकै रास्वपा केन्द्रीय कार्यालय परिसरमा नेता कार्यकर्ताले सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

उनीहरूले लामिछाने निर्दोष रहेकोमात्रै होइन, उनलाई प्रतिसोधका आधारमा पक्राउ गरिएको र सहकारी ठगीका असली अपराधीहरू भने सत्तारुढ दलले संरक्षण गरेर राखेको भन्दै आरोप लगाएका थिए । सडकमार्ग भएर पोखरा जान चाहेका लामिछानेको पक्षमा रास्वपाले धादिङ, चितवन, तनहुँ हुँदै पोखरासम्म नै सडकमा समर्थकको भीड उतारेको थियो । रास्वपाका उपसभापति  अर्यालसहित दर्जनौँ नेताहरू लामिछानेलाई पछ्याउँदै राति नै पोखरा पुगेका हुन् ।

लामिछानेलाई प्रहरीले गाडीमा राखेर लैजाँदै गर्दा ठाउँ-ठाउँमा रास्वपाका नेता कार्यकर्ताहरूले बाटो छेकेर नाराबाजी र विरोध प्रदर्शन गरेका थिए भने कतिपय ठाउँमा बाक्लो प्रहरी परिचालन गर्नुपर्ने स्थिति बनेको थियो । 

लामिछानेलाई काठमाडौँबाट हिडाएलगत्तैदेखि मुग्लिनमा जम्मा भएका उनका समर्थकहरूले लामिछाने त्यहाँ पुगुञ्जेलसम्म नाराबाजी र प्रदर्शन गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद लामिछानेसहित विभिन्न कम्पनी र व्यक्तिलाई विपक्षी बनाएर सहकारी बचत पीडितले गत वर्ष माघ २२ गते नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थियो।

संसदीय छानबिन समितिले लामिछानेसँग बयान लिएपछि कास्की प्रहरीले पनि काठमाडौ पुगेर उनीसँग बयान लिएका थियो। सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय जनाले बचत राखेको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रूपैयाँ अपचलन भएको छानबिन समितिले जनाएको छ।

बचत अपचलन गर्दा सहकारीले कानुनविपरीत गैरसदस्यलाई ऋण दिएको, कम्पनीमा लगानी गरेको लगायत निष्कर्ष निकालेको छ।

सहकारीको बचत अपचलन मुद्दामा शिवबहादुर गुरूङ ‘महेन्द्र भोटे’ भविश्वर अर्याल, सहकारीका कोषाध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका म्यानेजर कुमार रम्तेल, सहकारीका पूर्वउपाध्यक्ष कैलाशकुमार दर्लामी मगर, संचालक समिति सदस्य प्रमोद भट्टराई पूर्पक्षका लागि थुनामा छन्।

सुर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार मानिएका पूर्वअध्यक्ष एवं गोर्खा मिडियाका अध्यक्ष जिबी राई, उनका दाजु भूपेन्द्र राई, थानबहादुर बुढा, धीरजकुमार दास लगायत अझै फरार छन्।

शनिबार ३ कात्तिक २०८१ ०८:३५ AM मा प्रकाशित

प्रतिक्रिया