×

सभापति पक्राउको विरोधमा रास्वपाले गर्‍यो विरोधको आह्वान, आज ठाउँठाउँमा प्रदर्शनको गर्दै

images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरा र काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । आज बिहान ११ बजे पोखराको मानवअधिकार चोक र दिउसो १ बजे काठमाडौँको माइतीघरमा प्रदर्शन गर्न लागिएको हो ।

सहकारीको बचत अपचलनको अभियोगमा रास्वपा सभापति लामिछाने शुक्रबार पक्राउ परेका थिए। उनलाई शुक्रबार राति नै पोखरा लगिएको थियो। सडकमार्ग हुँदै पोखरा पु¥याइएको सभापति लामिछानेलाई बिहान ३ बजे हिरासतमा लिइएको थियो। पोखरामा हुने प्रदर्शनको नेतृत्व गर्न पार्टीका दुवै उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्लेलगायतका नेताहरू गए राति नै पोखरा पुगेका छन् ।

राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता भन्ने नाराका साथ रास्वपाले लामिछानेको पक्राउविरुद्ध प्रदर्शन गर्न लागेको हो । संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा त्यही मुद्दामा पार्टी सभापति लामिछानेलाई पक्राउ गर्नु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको ठहर रास्वपाले गरेको छ ।

कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति निकालेर न्यायिक निकायको छानबिनलाई सघाउन सधैँ तयार रहेको तर राजनीतिक प्रतिशोध भने कदापि स्वीकार्य नहुने उल्लेख गरेका छन् । 

बिना कारण, बिना आधार सभापतिलाई पक्राउ गरेर आम नागरिकको सहकारीमा डुबेको ८७ अर्ब रुपैयाँ अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भएको समेत रास्वपाले आरोप लगाएको छ ।

गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामक्स र वाइडबडी जस्तो अर्बौँको घोटालामा आपसी समझदारीमा एकअर्कालाई बचाउँदै लुट्दै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेका रास्वपाको आरोप छ ।  

शनिबार ३ कात्तिक २०८१ ०९:१२ AM मा प्रकाशित

प्रतिक्रिया