काठमाडौँ । जेनजी आन्दोलनलाई लिएर नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले माफी मागेका छन् ।
संविधान दिवसको अवसरमा विगतमा एमालेले गरेका निर्णय र तिनका परिणामको गम्भीर समीक्षा हुने बताउँदै व्यक्तिगत रूपमा आफ्ना गल्ती, कमजोरी र भूलप्रति उनले माफी मागेका हुन् ।
पौडेलले जेनजी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार र आफन्तप्रति समवेदना व्यक्त समेत गरेका छन् । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठित मन्त्रिपरिषद्प्रति शान्ति, सुशासन, भ्रष्टाचार नियन्त्रण, पुनर्निर्माण र तोकिएको मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने अपेक्षा पनि गरेका छन्।
उपाध्यक्ष पौडेलले जेन-जी आन्दोलनका क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्न र क्षतिग्रस्त सार्वजनिक तथा निजी संरचनाको यथाशीघ्र पुनर्निर्माण गर्न सरकारसँग माग गरेका छन् ।
उनले आन्दोलनका मुख्य कारणहरूमा युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोशलाई सम्बोधन गर्न नसक्नु, भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवाप्रवाहमा सुधार हुन नसक्नु रहेको उल्लेख गरे। यद्यपि, आन्दोलनमा भएको हिंसा, तोडफोड र आगजनीलाई उनले निन्दनीय भएको बताएका छन् ।
उनले पार्टीले अब जनता, विशेषगरी युवा पुस्तासँग एकाकार भई नीति निर्माण र नेतृत्वमा युवाशक्तिको निर्णायक योगदान सुनिश्चित गर्ने, संगठन, कार्यशैली र आचरणमा परिवर्तन गर्दै गतिशील र परिवर्तनको संवाहक शक्तिको रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।
संविधान दिवसको ऐतिहासिक अवसरमा विगतका अनुभवबाट शिक्षा लिँदै संविधानको रक्षा, प्रयोग र विकासका लागि सबै नेपालीले योगदान दिनुपर्नेमा उनले जोड दिए। आपसी सद्भाव र एकताका साथ विकास, समृद्धि र सामाजिक न्यायको दिशामा प्रभावकारी रूपमा अघि बढ्न सकियोस् भन्दै उनले सबैमा संविधान दिवसको हार्दिक शुभकामना व्यक्त गरेका छन्।
प्रतिक्रिया