×

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

images

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेकपा एकीकृत समाजवादीले विचार र सिद्धान्त मिल्ने पार्टीसँग एकताको पहल गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले मुलुकमा उत्पन्न विषम परिस्थितिमा वामपन्थी शक्तिहरू गम्भीर हुनु जरुरी रहेको निष्कर्ष निकाल्दै पार्टी एकताको निर्णय गरेको सो पार्टीले जनाएको छ । पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले चुनौतीपूर्ण परिस्थितिमा कम्युनिस्ट आन्दोलन तथा राष्ट्रिय स्वाधीनता र जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्न सम्पूर्ण कम्युनिस्ट, वामपन्थी तथा समाजवादी शक्ति र पार्टीहरूलाई एकताबद्ध भएर अघि बढ्न हार्दिक अपिल गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार १० बुँदे निर्णयमा सो पार्टीले विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग पार्टी एकताका लागि पहल गर्ने समेत उल्लेख छ । एकीकृत समाजवादीले निर्णयमा भनेको छ- 'पार्टीले अँगालेका नीति, विचार, सिद्धान्त, कार्यक्रम र कार्यदिशासँग सहमत हुने वामपन्थी, कम्युनिस्ट तथा समाजवादी पार्टी र समूहहरूसँग पार्टी एकता गर्न र अन्य पार्टी र समूहहरूसँग वर्तमान सन्दर्भमा सहकार्य गर्न हाम्रो पार्टीको तर्फबाट पहलकदमी अघि बढाउने निर्णयसमेत गर्दछ ।' 

२- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफ्नो घर जलाइएकोमा गुनासो गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित अन्तरक्रियामा बोल्दै डा. कोइरालाले मैले के गल्ति गएको थिए र मेरो घर जल्यो भन्दै प्रश्न गरेका छन् ।  भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कोइरालाको घरमा पनि आगजनी भएको थियो । उनले भने- 'जेनजी भनेको कुन शक्ति हो पहिले त्यो ठम्याउनुपर्‍यो । उनीहरूले भ्रष्टाचार, सुशासन र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शन गर्ने भनेका थिए । तर मैले के गल्ती गरेको थिएँ मलाई थाहा छैन, चार पटक जिते, मन्त्री पनि भएको छैन । भ्रष्टाचार पनि गरेको छैन । गणेशमानजीको घर जलाइयो, विराटनगरको कोइराला निवास जल्यो, किन जल्यो, कसको माथि यो आक्रोश पोखेको हो । यसको जवाफ मैले दिन सक्दिन । तर आक्रोश त छ ।'  डा. कोइरालाले यस्तो अवस्था आउँछ भन्ने कल्पनासमेत नगरेको बताउदै सरकार संबिधान अनुसार नभएको उल्लेख गर्दै संयमता पुर्वक अगाडी बढ्नु पर्ने भएको बताए ।

३- जेनजी आन्दोलनका क्रममा १२ स्टोर ध्वस्त भए पनि भाटभटेनीले कुनै पनि कर्मचारीले जागिर तथा सेवा-सुविधा नगुमाउन बताएको छ । १० हजार कर्मचारी आबद्ध रहेको भाटभटेनीले कर्मचारीलाई पुरा पारिश्रमिक र दशैँ बोनस समेत दिने बताएको छ । देश भर २८ स्टोर रहेको भाटभटेनीले हाल १६ स्टोर संचालनमा ल्याएको र आगजनी भएका स्टोरका धेरै जसो कर्मचारीले अन्य स्टोरमा काम गरिरहेको र केहिले ध्वस्त भएका स्टोरमा सरसफाई लगायतका काम गरिरहेको बताएको छ । जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीको निशानामा परेपछि काठमाडौँसहित धरान, विराटनगरम बुटवल लगायतका भाटभटेनीका स्टोर निशानामा परेका थिए ।

४- गृहमन्त्रालयले जेनजी आन्दोलन पश्चात विकसित घटनाक्रमपछि समाजमा घट्ने र घट्नसक्ने उच्छृङ्खल गतिविधिहरू भए गरेको देखिएमा खबर गर्न आग्रह गरेको छ । मन्त्रालयले उच्छृङ्खल गतिविधिहरू भए गरेको देखिएमा अथवा केही समस्या परेमा सोको सहजीकरण गर्न मोबाईल नम्बर ९८५१३६०६०३ सहितको सहायता कक्ष स्थापना गरिएको जानकारी दिदै सूचना, गुनासो, सल्लाह, सुझाव उक्त नम्बरमा फोन, एस.एम.एस, ह्वाट्सएप, भाईवरमार्फत जानकारी गराउन आग्रह गरेको छ । गृहमन्त्रालयले भनेको छ-  जेनजी युवा पुस्ताद्वारा भएको प्रदर्शन पश्चात् विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्नसक्ने उच्छृङ्खल गतिविधिहरू भए गरेको देखिएमा अथवा केही समस्या परेमा सोको सहजीकरण गर्न मोबाईल नं. ९८५१३६०६०३ सहितको सहायता कक्ष गृह मन्त्रालयमा स्थापना गरिएको हुँदा आफ्ना सूचना, गुनासो, सल्लाह, सुझाव उक्त नम्बरमा फोन, एस.एम.एस, ह्वाट्सएप, भाईवरमार्फत जानकारी गराउनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।

५-  प्रसिद्ध बलिवुड गायक जुबीन गर्गको सिंगापुरमा एक दुखद दुर्घटनामा निधन भएको छ । स्कुबा डाइभिङ गर्दा उनी दुर्घटनामा परेपछि सिंगापुरमा उपचारको क्रममा निधन भएको मिडिया रिपोर्टमा उल्लेख छ । ५२ बर्षिय गर्ग उत्तर पूर्व महोत्सवमा भाग लिन सिंगापुरमा थिए, जहाँ उनले सेप्टेम्बर २० मा प्रस्तुति दिने कार्यक्रम थियो । उनको अचानक मृत्युले प्रशंसकहरू र सम्पूर्ण आसामी समुदायलाई स्तब्ध बनाएको छ । जुबीन गर्गले २००६ को फिल्म 'ग्याङ्स्टर' को 'या अली' गीत गाए, जसले उनलाई लोकप्रियताको शिखरमा पुर्याएको थियो । उनले २००२ को फिल्म काँटे को 'जाने क्या होगा रामा रे' गीत पनि गाएका थिए । उनले फिल्म नमस्ते लन्डनको 'दिलरुबा' गीत पनि गाएका थिए । पूर्व राज्यसभा सांसद रिपु बोराले ट्विटरमा गायकलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।  आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले जुबीन गर्गको निधनमा शोक व्यक्त गरेका छन् ।

६- संयुक्त राज्य अमेरिकाले गाजामा तत्काल र स्थायी युद्धविराम र बन्धकहरूको रिहाइको माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्मा प्रस्तुत प्रस्तावलाई फेरि एक पटक भिटो लगाएको छ ।  अमेरिकाले यो प्रस्तावमा भिटो लगाएको छैटौं पटक हो । मध्य पूर्वका लागि अमेरिकी उप-दूत मोर्गन ओर्टागसले मस्यौदा प्रस्तावले हमासको निन्दा वा इजरायलको आत्मरक्षाको अधिकारलाई पर्याप्त रूपमा मान्यता नदिएको बताएकी छन् । सुरक्षा परिषद्का अन्य १४ सदस्य राष्ट्रहरूले प्रस्तावको पक्षमा मतदान गरेका थिए । यसले गाजाको अवस्थालाई 'विपत्तिजनक' भनेर वर्णन गरेको छ । यसले इजरायलमाथिका सबै राहत प्रतिबन्धहरू हटाउन आग्रह गरेको छ । संयुक्त राष्ट्र संघले इजरायलले आफ्नो सैन्य अभियानलाई तीव्र पार्दै गर्दा गाजा शहरको अन्तिम जीवन रेखा भत्किँदै गएको चेतावनी दिइरहेको बेला अमेरिकाको यो कदम आएको हो । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायली सैन्य अभियानमा अहिलेसम्म ६५ हजार १४१ जना मारिएका छन् ।

७- नेपाली कांग्रेसको नेतृत्व परिवर्तन विधान अनुसार नै हुने भएको छ । शुक्रबार सम्पन्न कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विधान अनुसार पार्टीले १५औँ महाधिवेशनको तयारी गरिरहेको र नेतृत्व परिवर्तन पनि विधान अनुसार नै हुने स्पष्ट गरेका हुन् । उनले पार्टी पुनर्गठनबारे नेताहरूले राखेको अभिव्यक्ति व्यक्तिगत भएको र संस्थागत निर्णय नभएको समेत बताए । उनले भने- 'अहिले पार्टीलाई पुनर्गठन गर्ने, अधिवेशन गर्ने, पुनर्संरचना गर्ने कुरा विपद्को बेलामा साथीहरूले व्यक्तिगत रूपमा राखेका कुरा हुन् । हामी अहिले महाधिवेशनको तयारीमा छौँ । क्रियाशील सदस्यता बुझ्ने र बुझाउने क्रम जारी छ । त्यसैले हामी देश संबिधान अनुसार हुनुपर्छ भने झैँ पार्टी सञ्चालनको लागि पनि विधानभित्रै रहेर गर्छौँ ।' जेनजी आन्दोलनपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित अधिकांश नेताहरुले तत्काल पार्टी पुनर्गठन गर्नुपर्ने धारणा सार्वजनिक गरेको भए पनि पार्टीले आधिकारिक रुपमायस्तो कुनै निर्णय गर्ने अवस्था देखिएको छैन । त्यस्तै विश्वकर्माले सभापति शेरबहादुर देउवाको स्वास्थ्य सुधारोन्मुख रहेको र सैनिक अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

८-  विहिबार तीन पटक नकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको शेयर बजार बारे अध्ययन गर्न अर्थमन्त्रालयले चार सदस्यीय कार्यदल गठन गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले मन्त्री स्तरीय निर्णय गर्दै पाँच दिनको समय समय दिएर आम लगानीकर्ताको मनोबल बढाउन चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारको सुझाव र ठोस कार्ययोजना दिन कार्यादेश दिइएको छ । कार्यदलको संयोजकमा नेपाल धितोपत्र बोर्डक कामु कार्यकारी निर्देशक रुपेश केसी रहेका छन् भने सदस्यमा नेपाल राष्ट्र बैंकका शरण अधिकारी, नेपाल स्टक एक्सचेन्जका कामु कार्यकारी निर्देशक निरन्जन फुयाल र सदस्य सचिवमा अर्थ मन्त्रालयक उपसचिव शरद निरौला रहेका छन् ।

९- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी पुस्ताले उठाएका जायज माग सम्बोधन गर्दै आन्दोलनका क्रममा घटेका घटनाको छानबिनको माग गरेका छन् । शुक्रबार संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै महामन्त्री शर्माले जेनजी पुस्तालाई आफुहरुले भविष्यको कर्णधार भनिरहदा उनीहरु वर्तमानकै नेतृत्व गर्न आएको बताउदै जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिनको माग गरेका हुन् । महामन्त्री शर्माले जेनजीको प्रदर्शनमा भएको अत्यधिक बल प्रयोगको घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्ने, भदौ २४ गतेको प्रदर्शनमा भएको तोडफोड र आगजनीको सम्पूर्ण छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने, भ्रष्टाचारका विभिन्न मुद्दामा उच्चस्तरीय शक्तिशाली छानबिन र २०४६ यता उच्च पदमा पुगेका प्रत्येकको सम्पत्तिको छानबिन गर्न शक्तिशाली उच्चस्तरीय आयोग गरी चार आयोगको तत्काल गठन गर्न माग गरेका छन् । साथै उनले अहिलेसम्मको राजनीतिक यात्रामा आफु जम्माजम्मी एक पटक सांसद बनेको बताउदै आफ्नो जग्गा जमिन, बैंक खाता सबै सम्पत्तिको जाँच गर्न समेत आग्रह गरेका छन् र राजनीतिक नेतृत्वमा रहेका सबै परीक्षणका लागि तयार बन्न आग्रह गरेका छन् । उनले जेनजी पुस्ताको नाममा विधम्स मच्याउनेको छानबिन गर्न जेनजी युवाहरुलाई आग्रह समेत गरेका छन् ।

१०- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पार्टीमा रिफर्मेसन र सुधारात्मक परिवर्तनको माग गरेकी छन् । पार्टी कार्यालयमा आफ्नो माग दर्ता गर्दै तोसिमाले पछिल्लो समय विभिन्न कारणले पार्टीप्रति केहि प्रश्नहरु उठ्न थालेको स्थितिलाई आत्मसाथ गर्नुपर्ने उल्लेख गर्दै नयाँ नेपाल निर्माण गर्ने यात्रामा जनताबाट सुशासनको म्याण्डेटसहित अघि बढ्न मुख्य शक्तिको रुपमा पार्टीलाई विकास गर्नुपर्ने र यसका लागि यथाशिघ्र केहि महत्वपूर्ण निर्णय र कार्यहरु गर्नुपर्ने बताएकी छन् । तोसिमाले पार्टीमा रुपान्तरण आवश्यक रहेको भन्दै पार्टीको नेतृत्व, सिद्धान्त, नीति, कार्यक्रम आदि सबै आयामको पुनरावलोकन, पुनःमूल्यांकन र पुनर्संरचना गरेर आजको समयले खोजेको मध्यममार्गी राजनैतिक शक्ति निर्माणको लागि अहिले नै उपयुक्त समय भएको उल्लेख गरेकी छन् ।

११- दक्षिण एशियाली क्लब महिला च्याम्पियनसिप हुने भएको छ । दक्षिण एशिया फुटबल फेडेरेसनले डिसेम्बर ५ देखि डिसेम्बर २० सम्म साफ क्लब महिला च्याम्पियनसिप हुने जानकारी दिएको छ । फेडेरेसनका अनुसार नेपालको एपीएफ फुटबल क्लब, बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी, भारतको इस्ट बङ्गाल एफसी र पाकिस्तानको कराची सिटी फुटबल क्लब खेल्ने भएका छन् ।

१२- युक्रेनको सीमामा हिरासतमा रहेका दुईजना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार रौतहटका जय प्रकाश साह र बाग्लुङ्गका सन्देश केसीलाई बर्लिनस्थित नेपाली दूतावासको समन्वय एवं सक्रियतामा उद्धार गरी नेपाल फर्काउन लागिएको छ । यस उद्धार कार्यमा सहयोग गर्नुहुने युक्रेनको सीमा सुरक्षा सेवा कार्यालय, निजहरूको सुरक्षित उद्धारका लागि नजिकबाट सहकार्य गर्नुहुने गैर-आवासीय नेपाली संघ जर्मनीले सहयोग गरेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले विदेश यात्रा गर्दा सम्बन्धित मुलुकको अध्यागमन लगायत अन्य कानूनको पूर्ण पालना गर्न आग्रह गर्दै सम्बन्धित मुलुकको कानूनको उल्लङ्घन वा अवज्ञा वा बेवास्ता गर्दा पक्राउ परिने र लामो समय थुनामा बस्नुपर्ने अवस्था आउने एवं ज्यान समेत जोखिममा पर्नसक्ने भएकोले सतर्क हुन आग्रह गरेका छन् ।

१३- फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले यस महिनाको अन्त्यसम्ममा इरानमाथि अन्तर्राष्ट्रिय प्रतिबन्धहरू पुन: लागू हुने बताएका छन् । उनले इजरायली टिभी अन्तर्वार्ताको क्रममा यो कथन दिएका थिए । रोयटर्सका अनुसार, म्याक्रोनले इरानीहरूबाट प्राप्त गरेको पछिल्लो जानकारी गम्भीर नभएको उल्लेख गर्दै प्रतिबन्ध लगाउने बताएका छन् । गत महिना, बेलायत, फ्रान्स र जर्मनीले एउटा प्रक्रिया सुरु गरेका थिए, जस मार्फत संयुक्त राष्ट्र संघको प्रतिबन्धहरू पुन: लागू गर्न सकिन्छ । स्न्यापब्याक संयन्त्र एउटा प्रावधान हो, जसले इरानले आणविक सम्झौताका सर्तहरू उल्लङ्घन गरेको मानिएमा २०१५ भन्दा पहिले लगाइएका सबै कडा संयुक्त राष्ट्र संघको प्रतिबन्धहरू स्वचालित रूपमा पुन: लागू गर्दछ ।

१४- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंक बहादुर कार्की एक लाख घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौ तह) टंक बहादुर कार्कीले सडक स्तरोन्नती तथा निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख घुससहित बिरेन्द्रनगर नगरपालिका-९ मंगलगडी चोकबाट विहिबार पक्राउ परेको जनाएको छ ।

१५- अफगानिस्तानको तालिबान सरकारले नयाँ प्रतिबन्ध अन्तर्गत विश्वविद्यालयहरूबाट महिलाहरूले लेखेका पुस्तकहरू हटाएको छ । सोही आदेशले मानव अधिकार र यौन उत्पीडन जस्ता विषयहरूको पढाइलाई पनि निषेध गर्दछ । तालिबानले ६८० पुस्तकहरू प्रतिबन्ध लगाएको छ, जसमा लगभग १४० महिलाहरूले लेखेका छन्, जसमा 'रासायनिक प्रयोगशालामा सुरक्षा' जस्ता पुस्तकहरू पनि समावेश रहेको बताइएको छ । तालिबानले यी पुस्तकहरू उनीहरूको नीति र शरिया विरुद्ध रहेको बताएको छ । विश्वविद्यालयहरूलाई अब १८ विषयहरू नपढाउन पनि आदेश दिइएको छ, जुन तालिबान अधिकारीहरूका अनुसार 'शरियाका सिद्धान्तहरू र प्रणालीको नीति अनुरूप छैनन् ।' यो आदेश विगत चार वर्षमा तालिबानद्वारा लगाइएका प्रतिबन्धहरूको श्रृंखलामा अर्को कदम हो । यस हप्ता, तालिबानको सर्वोच्च नेताको आदेशमा कम्तिमा १० प्रान्तहरूमा फाइबर-अप्टिक इन्टरनेट प्रतिबन्धित गरिएको थियो । अधिकारीहरूले यसको उद्देश्य अनैतिकता रोक्नु रहेको बताएका छन् ।

१६-  नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार  छापावाल सुन तोलाको ८ सयले बढेर तोलाको २ लाख १६ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख १५ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर २५८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २५२० मा कारोबार भएको थियो ।

१७- जेनजी आन्दोलनलाई लिएर नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले माफी मागेका छन् । संविधान दिवसको अवसरमा विगतमा एमालेले गरेका निर्णय र तिनका परिणामको गम्भीर समीक्षा हुने बताउँदै व्यक्तिगत रूपमा आफ्ना गल्ती, कमजोरी र भूलप्रति उनले माफी मागेका हुन् । पौडेलले जेनजी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार र आफन्तप्रति समवेदना व्यक्त समेत गरेका छन् । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठित मन्त्रिपरिषद्प्रति शान्ति, सुशासन, भ्रष्टाचार नियन्त्रण, पुनर्निर्माण र तोकिएको मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने अपेक्षा पनि गरेका छन् । उपाध्यक्ष पौडेलले जेन-जी आन्दोलनका क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्न र क्षतिग्रस्त सार्वजनिक तथा निजी संरचनाको यथाशीघ्र पुनर्निर्माण गर्न सरकारसँग माग गरेका छन् । उनले आन्दोलनका मुख्य कारणहरूमा युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोशलाई सम्बोधन गर्न नसक्नु, भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवाप्रवाहमा सुधार हुन नसक्नु रहेको उल्लेख गरे। यद्यपि, आन्दोलनमा भएको हिंसा, तोडफोड र आगजनीलाई उनले निन्दनीय भएको बताएका छन् ।

१८- प्रधानमन्त्री सुशिला कार्कीले वर्तमान संबिधान नेपाली जनताको भाग्य मार्गदर्शन गर्ने दस्तावेज भएको बताएकी छन् । टुँडिखेलमा आयोजित संबिधान दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले  संबिधान दिवस केवल उत्सव मात्र नभएर संघीय गणतन्त्रको मुल्यांकन गर्ने दिन पनि भएको बताएकी छन् । उनले भनिन्- वर्तमान संबिधान नेपाली जनताको भाग्य मार्गदर्शन गर्ने दस्तावेज हो । संबिधान दिवस केवल उत्सव मात्र नभएर संघीय गणतन्त्रको मुल्यांकन गर्ने दिन पनि हो । १० बर्षमा देशमा के के उपलब्धि भए, के के कमजोरी भए भन्ने कुराको समिक्षा हुनुपर्दछ । सरकारबाट भएका कमीकमजोरीका कारण जेनजी आन्दोलनको जन्म भएको भन्दै भ्रष्टाचार, सुशासन, विकास र न्यायमा चुकेका कारण युवाहरु सडकमा आएका हुन् ।' प्रधानमन्त्री कार्कीले तोकिएको जिम्मेवारी अनुसार निर्वाचन सम्पन्न गरेर नयाँ निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने स्पष्ट गरेकी छन् । उनले जेनजी आन्दोलनले शासकीय सुधारको माग गरेको बताइन् । उनले आन्दोलनका क्रममा भएका क्षतिको पुनर्निर्माण गर्ने, निजी क्षेत्रको हौसला बढाउनु पर्ने र तोकिएको समयमा निर्वाचन गर्नुपर्ने जस्ता काम गर्नुपर्ने जिम्मेवारी रहेको छ । उनले सरकार आफ्ना जिम्मेवारीप्रति कटिबद्ध रहेको भन्दै आम जनतापनि आफ्नो कर्तव्यमा प्रतिबद्ध हुनेमा आफु विश्वस्त रहेको बताएकी छन् ।

१९- नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्ने बताएका छन् । संबिधान दिवसको अवसरमा सामाजिक संजालमार्फत ओलीले  जेनजीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भएको र सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको बताएका छन् । ओलीले प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको, नेपालको नक्सा जलाइएको, देशको निशानी मेटाउन खोजिएको उल्लेख गर्दै जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको बताएका छन् ।

२०- जारी एशिया कपको सुपर फोरको समीकरण पुरा भएको छ ।  समुह चरणको एक खेल हुन बाँकी हुदानै सुपर फोरमा पुग्ने चार देशको टुंगो लागेको हो । जसमा समुह ए बाट भारत र पाकिस्तान तथा समुह बी बाट श्रीलंका र बंगलादेश सुपर फोरमा पुगेका हुन् ।  त्यस्तै समुह ए बाट युएई र ओमान तथा समुह बी बाट अफगानिस्तान र हङकङ समुह चरणबाट बाहिरिएका हुन् । गएराती सम्पन्न खेलमा श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेसँगै श्रीलंका समुह बि मा अपराजित रहदै शिर्ष स्थानमा रहेको छ । त्यस्तै समुह बी मा बंगलादेश ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेर सुपर फोरमा पुगेको छ ।  अब सुपर फोरमा रहेका सबै देशले एक अर्काविरुद्ध एक अर्काविरुद्ध खेल्ने छन् र शिर्ष स्थानमा रहेने दुई देश फाइनलमा पुग्ने छन् ।  यसमा रोचक के छ भने सुपर फोरमा भारत र पाकिस्तानबीच फेरी खेल हुने भएको छ । दुवै देशको खेल आइतबार हुने भएको छ । एशिया कप अन्तर्गत आज भारत र ओमानबीच समुह चरणको अन्तिम खेल हुदैछ र यस खेलको नतिजाले सुपर फोरको समीकरणलाई कुनै फरक नपार्ने भएको छ ।

शुक्रबार​ ३ असोज २०८२ ०८:५४ PM मा प्रकाशित

प्रतिक्रिया