×

कोरोना विरुद्धको खोप लगाउन मन्त्रालयको अनुरोध

images

कोरोना विरुद्धको खोप लगाउन छुटेको भए तत्काल लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फेरि बढेसँगै मन्त्रालयले खोप लगाउन छुटेको भए खोप लगाउन आग्रह गरेको हो ।

सरकारले प्राथमिकतामा राख्दाराख्दै पनि केही व्यक्ति खोप लगाउनबाट छुटेका पाइएकाले उनीहरुलाई खोप लगाउन आग्रह गरिएको हो ।

खोपले सङ्क्रमण भए पनि जटिल अवस्था निम्तन नदिने भएकाले खोपको महत्त्व बुझ्न स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आग्रह गर्नुभयो । 'कतिपयकाे बुझाइ खोप लगाएपछि पनि कोरोना सङ्क्रमण हुने रहेछ किन खोप  लगाउनु पर्याे भन्ने रहेको छ' अधिकारीले भन्नुभयो – 'खोपले सङ्क्रमण रोक्ने होइन । जटिल अवस्था हुनबाट र ज्यान जाने जोखिमबाट रोक्ने हो ।'

कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि जनस्वास्थ्यका मापदण्ड पालना नै एक मात्र उपाय भएको डाक्टर अधिकारीले बताउनुभयो । खोप लगाइसकेका र खोप लगाउन बाँकी रहेकाहरुले स्वास्थ्यको मापदण्ड पालना गरे सङ्क्रमण फैलिन नपाउने उहाँको भनाइ छ ।

घरबाट बाहिर निस्कँदा मास्क अनिवार्य लगाउन, भौतिक दूरी कायम गर्न र बेलाबेलामा साबुन पानीले मिचिमिची हात धुन वा स्यानिटाइजर लगाए सङ्क्रमणबाट बच्न सकिन्छ । कोरोनाका कारण पछिल्लो साढे २ महिनामा हिजो र अस्ति एक/एक जनाको ज्यान गएको छ । ज्यान गुमाएका दुवै जनाले खोप नलगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मङ्गलबार ३ साउन २०७९ ०१:०९ PM मा प्रकाशित

प्रतिक्रिया