×

 आधिकारिक भनिएकै पुस्तक नै सम्पूर्ण भ्रमको जड हो 

images

श्यामसुन्दर राजवंशी
विषको बोट रोपेर अमृत फल्ने आशा नगरौं । त्यसैले अमृत फल्ने बोट नै रोपौं । त्यसको लागि अमृतको बोट चिन्नु पर्ने हुन्छ । अमृतको बोट यही हो भनेर ठानेर विषको बोट पर्छ भने बोटको दोष होइन छनोट गर्नेको दोष हुन्छ भने झैं अधिकमास परेको वर्ष भनौं भने ने.सं ७७५ अधिकमास परेको वर्ष पनि होइन । त्यत्तिकै कुनै पंडित आएर त्यो वर्ष ज्येष्ठशुक्ल पूर्णिमा तिथिलाई आषाढको १० गते पर्न आउँछ भनिदियो । फेरि पण्डितको विश्वास गरेर मान्छेहरुको बथान सूझबूझ बिना पछि लाग्दै आएको छ । पण्डितले के कसरी कुन तरिकाले २४ दिन पर सरेको हो त्यस हिसावको पूरै फाटँवारी फिहरिस्त दिएको छ कि हेर्दा त्यो पनि छैन । यहाँ पण्डितले अमृत भनेर विषको बोट रोपी दियो भन्नु र २४ दिन पर सरेको हो भनी पछि लाग्नु भनेको उस्तैउस्तै कुरा  हो । यसलाई केवल अन्धानुशरण मात्र भन्न सकिन्छ भने त्यसरी २४ दिन पर सरेको देखेको पनि उन पण्डितको दृष्टि भ्रम मात्र हो भन्न सकिन्छ । यथार्थमा त्यसरी कुनै पनि दिन सरेको छैन यही कुरा उदाहरणका साथ खुलासा गर्ने यो लेखको मूल आसय हो । जस्तै उदाहरण ः 

            नेपालसंवत् ७७५ वि.सं १७१२ ज्येष्ठशुक्ल गते बार  तिथि   घडी पला  नक्षत्र   घडी पला   योग   घडी पलाआषाढ  १०  शुक्र  पूर्णिमा  ५३।३०   ज्येष्ठा   ९ ।५९     शुभ     ३।१९ शुभयोग ३ घडी १९ पलासम्म रहन्छ । त्यसपछि शुक्लयोग लाग्छ ।  ज्येष्ठा नक्षत्र ९ घडी ५९ पलासम्म रहन्छ । यस कारण ३ घडी १९ पला उप्रान्त ९ घडी ५९ पला भित्र हरिवंशको माथिको वाक्य लेखिएको देखिन्छ ।                                                                                                                                                             

 

                                                                                                                                                                                                                                     (लिच्छविकोसंवत् निर्णय पृष्ठ ५ )

यहाँ तिथि जेठ शुक्ल पूर्णिमा जेठको १६ गते तिर पर्नुपर्ने आषाढको १० गते पर्छ भनिएको छ । यो  हुनै सक्दैन । त्यसो भन्दै गर्दा त्यहाँ दिन सरेको ख्यालै नगर्ने र त्यही पण्डितले  आषाढ ७ गते सवभन्दा लामो दिन हुन्छ र पौष ७ गते सवभन्दा छोटो दिन हुन्छ भनी रहेको कुरा मात्र कसरी पत्याउने ? यो त खुट्टी हेरेरै पनि पत्याउने कि न पत्याउने भनेर बुझ्नु पर्ने हो नि बुझ्ने प्रयास अहिलेसम्म कसैले गरेको देखिएन । उदेक लाग्दो कुरो यही हो । त्यतिमात्र होइन नेसं ७७५ जेष्ठ भनेको वि.सं १७११ जेष्ठ हुनुपर्नेमा वि.सं १७१२ जेष्ठ हुन्छ भन्दै गर्दा वर्ष नै फरक पर्दा पनि फरक परेको नदेख्नेहरुले  २३ , २४ दिन पर सर्यो भन्दा पत्याउने आधार खोइ ? भनेर समेत सोध्न नसक्नु अर्को उदेक लाग्दो छ । 

माघ १ गतेबाट सूर्य उत्तरायण  हुने र श्रावण १ गतेबाट सूर्य दक्षिणायन हुने मान्दा आकाशको घटना संग मिल्दैन भन्नुको अर्थ के ? प्रश्न उठ्छ । आकाशको घटना संग प्रत्यक्ष मिलेको संक्रान्तिलाई सायन संक्रान्ति र ग्रन्थबाट गणना गरी ल्याएको संक्रान्तिलाई निरयण संक्रान्ति भन्छ मात्र भनेर पुग्दैन । सायन संक्रान्ति र निरयण संक्रान्तिको अलग अलग तथ्याङ्क कहाँबाट उपलव्ध हुन्छ र त्यसको स्पष्ट  तथ्याङ्क अगाडि नल्याइकन हावाको भरमा भन्न पाइने होइन । निरयण संक्रान्ति त ग्रन्थहरुबाट आउँछ भन्दा पुग्ला रे तर आकाशको संक्रान्ति कहाँबाट संप्रेषण भइरहेको ,त्यसको खुलासा खोइ त ? प्रश्न उठ्छ । 

आजभोलि सायन संक्रान्ति र निरयण संक्रान्ति बीच २३ , २४ दिन अन्तर पर्ने भैसक्यो र एक दुई दिन  होइन ,२३,२४ दिन अन्तर परेको थाहा नपाउने हुन्दैन भन्दै गर्दा विक्रमसंवत् समातेर वर्षवर्ष नै अन्तर  परिरहेको दृष्टान्त हुँदाहुँदै वर्ष फरकको ख्याल नगर्ने, २३ दिन फरकको ख्याल किन गर्ने ? प्रश्न उठ्छ ।  यसको मतलव उही कि साधन समात्ने बेला विक्रमसंवत् नामको गलत साधन समात्ने तव परिणाम  फरक आएर ताज्जुव मान्नु कुन आश्चर्यको कुरा भयो ? प्रश्न उठ्छ , उल्टै फेरि यस्तो तर्क पनि गर्दै  आएका छन् । जस्तैः—

आजभोलि कसैले वैशाख १ गते तथा कार्तिक १ गते दिन रात बराबर हुन्छन् भनी बोल्यो भने त्यसले उल्लूमा गनिनुपर्छ । त्यसै गरी श्रावण १ गते सबभन्दा लामो दिन हुन्छ तथा माघ १ गते सवभन्दा छोटो दिन हुन्छ भनी बोल्ने मानिस पनि उल्लू नै ठहरिन्छ । 

                                                                                                                                                                                                                                                                                (लिच्छवि संवत्को निर्णय पृष्ठ १३७ )
यहाँ पण्डितको तर्कलाई विश्वास गरियो भने शास्त्र मिल्दैन । शास्त्रमा विश्वास गरियो भने आफु उल्लू कहलिनु पर्ला भन्ने डर हुन थालेको देखियो भन्ने कुरा उपरोक्त भनाईले प्रष्ट्याउँछ । त्यसैले तर्कजाल बुन्नेहरू आफु उल्लूमा दरिनु नपरोस् भन्दै निक्कै आत्तिएर भौंतारिरहेको पनि यही भनाईबाट प्रष्ट हुन्छ । 

 यो भनाईबाट यो कुरा पनि याद दिलायो कि पहिले पुरानो शिक्षामा एस एल सीको अंग्रेजी दोस्रो पेपरमा प्रोज भन्ने पुस्तक पढ्नु पर्दथ्यो । त्यसमा द इम्पेर न्यू क्लोथ को कथा पढ्नु पर्दथ्यो । त्यसमा तर्कजाल बुने जस्तै लुगा बुन्ने दुई ठग जुलाहाहरू आएर त्यहाँ राजालाई लुगा बुनेर लगाई दिएको कथा छ । त्यस कथामा जसले राजाले लगाएको लुगा देख्छ ती बुद्धिमान र जसले देख्दैन उ पट्मूर्ख भनेर जान्नु भन्ने त्यस्तो विशिष्ट प्रकारको लुगा बुन्न जान्ने अत्यन्त सिपालु जुलाहाहरु आइरहेछन् भनी शहर भरि प्रचार गरेको हुन्छ । एक दिन ती जुलाहाहरूले लगाइ दिएको लुगा लाएर राजालाई शहर घुमाउंदा आफुलाई पट्मूर्ख भन्ला भन्ने डरले सारा मान्छेले राजाको लुगा अत्यन्तै राम्रो भन्दै तारिफ गरे । अहिले पर्व सुधार भन्दै तर्कजाल जुन बुन्दै आइरहेको छ यो पनि आफु उल्लूमा दरिनु पर्ला भने जस्तैको कुरो देखिन आयो । 

तर्कजाल बुन्नेहरूले यस्तो तर्क उठाउने गरेको छ । जसतैः 

विक्रमसंवत् शुरु हुंदाको वखत पृथ्वीको उत्तरी ध्रुवमा राती उभिने मानिसको टाउकोको माथि अहिलेको ध्रुवतारा नभएर हाल केही पूर्वमा देखिने तारा ध्रुवताराको रुपमा देखिन्छन् ।

यो कुरा पनि तर्क मात्र हो शास्त्र होइन । तर्कलाई प्रमाणित गर्ने गणित हुंदैन । त्यसैले यो कुनै गणितलाई समातेर भनिएका कथन पनि होइन । विक्रमसंवत् स्वयंमा एक अवैज्ञानिक धरातल माथि उभेको जग नभएको घर जस्तै हो । त्यस्तो अवैज्ञानिक विक्रमसंवत्लाई समाएर आकाशीय पिण्ड हेरेर ठूलठूला गफ गर्नु भनेको पनि जुलाहाहरुले बुनेको तान भन्दा के फरक प¥यो त ? 

यस्तै अर्को गफाष्टक तर्क छ जस्तै .अवको २ हजार वर्ष पछि ध्रुवताराको रुपमा अर्को नयाँ तारा देखिने हुन्छ ।
दुई हजार वर्षको कुरा धेरै परको हो यही चालु वर्ष २०८० सालमा अधिकमास परेको छ । अधिकमास परेको भए पनि यो वर्ष ३९० दिनको वर्ष होइन भन्ने त थाहा नभएर अधिकमास भएको वर्षमा ३९० दिन हुने हो भन्नेहरु स्वयं उनीहरु नै हुन् । उहिले शक ५२९ को वर्षमा ३९० दिन भएको हावादारी सिद्धान्तमा टेकेर गणना गरी उल्टै गणना गरेको भन्दै धक्कू दिईदा त्यो त हो वा होइन परीक्षण गर्न नसक्नेहरुले आकाशमा देखिने ध्रुवतारा  दुई हजार वर्ष पछि अर्कै हुन्छ भन्दै हिंडीरहेछ भने त्यसको लागि गणितको आधार के लिइयो होला र यसलाई हो भनी पत्याइ आउनेहरुले के आधार देखेर पत्याएको होला  अचम्म छ ? 

 वैज्ञानिकहरुले गरेको मापन अनुसार पृथ्वीको अक्षको फर्काइ विस्तारै सरेर फेरि हालको ध्रुवतारा भएको ठाउमा आइपुग्न २६००० वर्ष लाग्छ । यदि यही प्रचलन यथावत् रहेमा मतलव पर्व सुधार गरिएन भने १३००० वर्ष पछि पुस माघ गर्मी महिना हुने र जेठ असार जाडो महिना हुने हुन्छ । 

हाल प्रयोग गर्दै आएको आफनो विक्रमसंवत्मा कहाँ निरको हिसाव तालमेल छैन त्यो नै थाहा नहुनेहरुले २६००० र १३००० वर्षको चिंता गर्नु भनेको कुनै सुहाउने कुरो होइन । स्कण्ड पुराण वाचन गर्दा दश हजार वर्ष मधुकैटभसंग विष्णुले जलैमा युद्ध गरे , तारकासुर दैत्यले तपस्या गर्न मनलागेर दशहजार वर्षसम्म ब्रह्माको तपस्या गरे भन्ने जस्ता सन्दर्भको यहाँ कुनै अर्थ छैन । साँच्चै मिलाउने तागत भए आफुले प्रयोग गर्दै आइरहेको विक्रमसंवत्लाई शास्त्रसम्मत , वैज्ञानिक सम्मत हुनेगरी मिलाउने तिर ध्यान जानु पर्दथ्यो । यता तिर भने कसैको ध्यान गएको छैन । यसमा ध्यान जानु त परै जावस् विक्रमसंवत्को क्यालेण्डर वैज्ञानिक छैन भन्ने कुराको कुनै भनकसम्म पनि  शुन्य दशमलव शुन्य एक प्रतिशत पनि हेक्का राखेको छैन । जसलाई विक्रमसंवत्को कुनै छेउटुप्पोको अत्तोपत्तो थाहा छैन । उनीहरुले २६००० वर्षपछि आकाशको पिण्ड ग्रहहरुको अवस्था के कस्तो हुने हो त्यसको चासो देखाइरहेका छन् । त्यो कसलाई बोध गराउन खोजेको हो ? कसको लागि यो चिन्ता गरिरहेको हो त्यो पनि थाहा छैन ।
यसको उल्का कहाँबाट शुरु भएको भन्दापनि २०४३ सालमा प्रकाशित लिच्छविसंवत्को निर्णयको पृष्ठ १३७ र १३८ पल्टाएर हेर्दा पहिलो पटक देख्न पाइन्छ । त्यसमा सायनसङ्क्रान्ति र निरयणसङ्क्रान्तिमा आजभोलि तेइस चौबीस दिनको अन्तर परेको छ । सायनसङ्क्रान्ति र निरयणसङ्क्रान्तिको जो अन्तर छ, त्यसलाई अयनांशबाट भएको अन्तर भन्छन् । आकाशको घटना संग प्रत्यक्ष मिलेको सङ्क्रान्तिलाई सायन सङ्क्रान्ति र ग्रन्थबाट गणना गरी ल्याइएका सङ्क्रान्तिलाई  निरयणसङ्क्रान्ति भनी ज्योतिषी हरुले नाम राखेका छन् भनी ती पृष्ठहरुमा उल्लेख गरिएका छन् । 


यही सायन र निरयणको फरकको कारणले मान्छेहरु उल्लू बन्नुपरेको भए अव श्रावण १ गते बाट सूर्य दक्षिणायन हुने मान्नुको सट्टा आषाढ ७ गते दक्षिणायन भनेर मानेर र माघ १ गते बाट सूर्य उत्तरायण हुने भनी मान्नुको सट्टा पौष  ७ गतेलाई मानियो भने आकाशको घटना र ग्रन्थको गणना सित ट्वाक्कै मिल्ने ग्यारेण्टी कसले दिन्छ र त्यसको प्रत्यक्ष प्रमाण भनेर देखाउन अन्तरीक्षमा गएर हेर्न जाने को हो ? त्यो पनि अन्यौल नै छ ।

वास्तवमा यो घनचक्कर समस्या को न कुनै उपाय छ , न कुनै यसको असर छ ,न कुनै यसको परिणाम छ यस्तो अर्थनबर्थको कुरामा मान्छेहरु  किन बृथामा भौंतारिरहन खोजेको हो ? बुझ्न सकिएको छैन ।
विक्रमसंवत्को बेमेल सन्दर्भ

कोही भन्छन् विक्रमसंवत् विक्रमादित्य नामका राजाले चलाएको संवत् हो ।  नेपालमा विक्रमादित्यको कुनै गुञ्जायस नै छैन । इतिहासमा उनको नाम निशान छैन । भारतमा शकसंवत् शुरु हुनु भन्दा १३५ वर्ष अघि चलेको कथन सुनेको हुनाले त्यही कथन नेपालमा भित्रेकोले शकसंवत्मा १३५ जोड्ने सूत्रले यहाँ ठूलो भूमिका खेल्यो । किनभने १३५ जहाँ लगेर जोड्यो त्यही शकसंवत् कहलिनु पर्ने बाध्यता सिर्जना गरियो र भ्रमलाई अझ व्यापक बनाई  दियो । भारतमा शकसंवत् चल्नुभन्दा अघि  नेपालमा चलेको संवत् लिच्छविकालमा नेपाल भित्र व्यवहार भइरहेको तथ्य माथि अनदेखा गर्दै त्यसैलाई  शकसंवत् ठानेर त्यसमा १३५ जोडेर बनाइएको विक्रमसंवत् भएकोले विक्रमादित्य नामको कुनै राजाले बनाएको संवत् भनेर कथा संगै १३५ जोड्ने सूत्रले जन्माएको संवत्लाई नेपालमा विक्रमसंवत् मान्दै आएको हो । यहाँ सुधारको आवश्यकता भनेको विक्रमसंवत् हो पर्वको सुधार होइन भन्ने प्रष्ट छ । 
नेपालमा विक्रमसंवत्को हुलिया कस्तो छ के हो भन्ने कुरा खुद इतिहासकारहरुलाई थाहा छैन । खुद इतिहासकार भनाउँदाहरुलाई नै थाहा छैन भने अरुलाई यसमा चासो हुने कुरा भएन ।  यदि थाहा भएको भए यस प्रकारको गलत कुरा लेख्दै आउने थिएन । जस्तैः

१. सर्वप्राचीन एवं प्रामाणित अभिलेख स्रोत मध्ये एक त्यो चाँगुनारायणको मानदेवले राखेको शिलास्तम्भ पनि हो । यसमा संवत् ३८६ जेठ लेखिएको सर्वविदित नै छ । कोही यही ३८६ लाई नै विक्रमसंवत् भनीरहेका छन् । कोही यो शकसंवत् भएकोले यसमा १३५ जोडेर वि.सं ५२१ हुन्छ भनी रहेका छन् । कोही चाहीं ३८६ मा १३६ जोडेर वि.सं ५२२ हुन्छ भन्दै आएका छन् । वि.सं २०३५ सालमा शक १९०० भएपछि यी दुइको बीच १३५ देखाउन सक्छ भने १३६ अन्तर कुन सालमा देखियो त्यसको पुष्ट्याई खोज्नुपर्दछ कि पर्दैन तर खोजिएको छैन । यस प्रकार एउटा अभिलेख भेटियो कि त्यसलाई कति विक्रमसंवत्को भन्न सकिरहेका छैन भने  विक्रमसंवत्को हुलिया के हो थाहा भएको भन्न कदापि मिल्दैन । त्यसमाथि विक्रमसंवत्लाई साधन बनाएर २३ ,२४ दिन फरक प¥यो भन्नुको कुनै औचित्य छैन ।  

२. त्यस्तै गरी लिच्छविकालको अन्ततिरको प्रामाणिक स्रोत भनेर केशर पुस्तकालयको सहोत्तरतन्त्रलाई मानिन्छ भन्ने सर्वविदित छ । यसमा संवत् ३०१ वैशाख दिइएको कुरा पनि सवैलाई थाहा छ । यो संवत् ३०१ लाई कुन संवत् भन्ने भनेर सुमतितन्त्रलाई हत्तरपत्तर समात्न पुग्छ । त्यसरी समात्न पुग्दा शकसंवत् ४९८ सम्म चल्छ भनेर लेखेको कुरा त्यसमा देख्छ । त्यो ४९८ फेरि कार्तिकबाट शुरु भएर आएको हो कि चैत्रबाट शुरु भएर आएको त्यसको अत्तो पत्तो हुलिया सुमतितन्त्रमा छैन । सुमतितन्त्रमा विक्रमसंवत्को उल्लेख पनि कतै छैन तथापि ४९८ मा १३५ जोडेर वि.सं ६३३ त बनाइयो  । त्यो ६३३ कुनकुन महिनामा जोड्न पाइने हो त्यसमा पनि अन्यौल हुने पनि अरु होइन स्वयं पण्डितहरु  नै हुन् । संवत् ३१ माघको अभिलेख भेटिंदा ६३३ जोडेर वि.सं ६६४ माघ त भन्ने हिम्मत गरे । तर संवत् ३०१ मा आएर वैशाखमा ६३३ जोड्दा वि.सं ९३४ मात्र हुन्छ । तव अभिलेखमा वैशाख मै ३०१ खुद हुंदा हुंदै वैशाखमा ३०२  भनेर हुन्छ कि ६३४ जोडेर हुन्छ । अनेक जाल झेल गरी वि.सं ९३५ वैशाख बनाउन परेको छ । यसबाट विक्रमसंवत्को हुलिया थाहा पाएको छ भन्न कदापि मिल्दैन ।  

३. नेपालसंवत्को शुरुवात वि.सं ९३६ कार्तिक शुक्ल प्रतिपदाबाट भएको हो भन्ने त सर्वविदित भइसकेको कुरा हो । आफनै सिद्धान्तलाई कुल्चेर हुन्छ कि अनेक हरकत प्रयोग गरेर संवत् ३०१ वैशाखलाई मानदेवसंवत् मानेर तद्नुसार विक्रमसंवत् ९३५ वैशाख बनाउन सक्ने भएपछि  सुमतितन्त्रले  त्यही मानदेवसंवत् ३०४ वर्ष चलेको सिद्ध गर्न सक्ने सामथ्र्य कहाँ देखाइएको छ खोजि हुनु परेन तर खोजिएन । स्कूलमा पढ्ने केटाकेटीले नै भन्न सक्छ कि वि.सं ९३५ वैशाख सम्म उनीहरुको मानदेव संवत् ३०१ थियो भनेपछि विसं ९३६ कार्तिकमा त्यो मानदेवसंवत् ३०२ मात्र भुक्त हुनसक्छ ३०४ भुक्त हुन सक्दैन भन्न सक्छ तर महान गणकलाई यो थाहा नहुनु आश्चर्य नै हो । जेहोस् आफु बेवकूफ हुन नपरोस् भनी ८०२ बाट ४९८ घटाए ३०४ आउंछ र ८०२ मा १३५ जोडे ९३७ आउने देखाएर नेपालसंवत्को शुरुवात वि.सं ९३७ कार्तिकमा भएको भन्दै आउनेहरु पनि अनेकौं  देखिन्छन् । आखिरमा नेपालसंवत् शुरु वि.सं ९३६ कार्तिक हो कि वि.सं ९३७ कार्तिक छुटउन सकिरहेका छैन । यो भनेको विक्रमसंवत्को हुलिया थाहा नपाएरै हो भन्न सकिन्छ । यसरी हरेक इतिहासका स्रोतहरुमा भएको मितिको विक्रमसंवत्मा दिइएको मिति कुनैमा एक वर्ष कुनै मा दुइवर्ष सारेर दिईंदा यथार्थ भन्दा फरक परिरहेकोमा चिन्ता छैन । आँखाले नभ्याउने ध्रुवतारा  २६००० वर्ष पछि अर्कै देखिने हुन्छ भन्दा चिन्ता गर्ने यो के चाला हो ? बुझ्न सकिन्न । 

इस्वीसंवत् को हुलिया बुझ्न नसक्दा
इस्वीसंवत्मा १५८२ भन्दा अघिको समयलाई जुलियन क्यालेण्डर अनुसार भनेर बुझ्ने , १५८२ देखि १७५१ सम्म ग्रेगोरियन क्यालेण्डर अनुसार र १७५१ देखि हालसम्मको इस्वीसंवत् संशोधित भनेर बुझ्ने गरिन्छ । यदि एकोर्डिङ् टु जुलियन र ग्रेगोरियन अनुसार भनेर हाल डिसेम्वर २१ देखि सूर्य उत्तरायण हुन्छ भन्दछन् भने नेपालको सन्दर्भमा यो तालमेल छैन भन्न सकिन्छ । किनभने १७५१ देखि इस्वीसंवत् संशोधन भइसकेको छ । त्यसैले तारिख गणना गर्दा १७५२ भन्दा अघिको भए प्राचीन रीतबाट र १७५२ देखि नवीन रीतबाट गर्नु पर्छ भन्ने त सिद्धान्त नै बनीसकेको छ । त्यही अनुसारले गणना गर्दा गणना मिलेको उदाहरणहरु यस अघिका लेखहरुमा थुप्रै गइसकेका छन् । यी कुरा ख्याल नराखेर ग्रेगोरियनको हिसावको हेरेर इस्वीसंवत्को हुलिया बुझेको भन्न मिल्दैन ।

निष्कर्ष 
विषको बोट रोपेर अमृत फलाउन सकिन्न । २३ , २४ दिन फरक देखेको कुरा  विक्रम संवतलाई साधन बनाउने र ग्रेगोरियन क्यालेण्डरलाई साधन बनाउनेहरुको दृष्टि भ्रम मात्र हो । अरुले देखेको महसूस गरेको कुरा होइन यो कुरा प्रष्ट भइसकेको छ । जसलाई विक्रमसंवत् मिल्दैन भन्ने कुराको कुनै ख्याल नै छैन उनीहरुले अहिले उत्तरायण दक्षिणायनको दिन फरक भैसक्यो भनेर हल्ला गर्दै आएको हो जस्को कुनै औचित्य छैन । ग्रेगोरियन क्यालेण्डर अनुसार डिसेम्वर २१ मा सूर्य उत्तरायण वा दक्षिणायन हुने हो भनेर भनिएको हो । त्यसमा पनि आश्चर्य मान्नु पर्ने जरुरी नै छैन । जसले इस्वी १७५१ को संशोधन बारे केही थाहा छैन उसले ग्रेगोरियन मिल्छ भन्नुको पनि कुनै अर्थ छैन । जसले विक्रमसंवत्को ऐतिहासिक क्रमकेही थाहा छैन उसले २३,२४ दिन फरक परिसक्यो भन्नुको पनि कुनै अर्थ छैन । 
ने.सं ७७५ मा जेष्ठ शुक्ल पूर्णिमा जेठको १६ गते पर्नुपर्ने आषाढको १० गते पर्छ भनी हिसावको नतिजा देखायो भने २४ दिन फरक पर्नु स्वभाविक भयो ।  त्यसतै गरी ने.सं ७७५ मा जेष्ठ शुक्ल पूर्णिमा जूनको २ तारिख पर्नुपर्ने जूनको २६ तारिख पर्न जाने देखाएपछि २४ दिन फरक पर्नु स्वभाविक भयो । किनभने आषाढको १० गते जून २ हुने होइन २५।२६ तारिख पर्न आउने हो । यसप्रकार आफ्नो हिसाव बेतोडले कताकता दौडेको ख्यालै नगरी पर्वसुधार भन्दै अन्धाधुन्ध दोडने  र २४ दिन पर स¥यो भन्दै एक महिना घटाउने अभियानमा लाग्दै गर्दा अरु बेवकूफ बन्ने होइन आफै बेवकूफ बनेको चालै नपाएको  मात्र हो । 


 


 

मङ्गलबार ६ चैत २०८० ०४:४४ PM मा प्रकाशित

प्रतिक्रिया