×

देशभर ३५० सङ्क्रमित थपिए, चारको मृत्यु 

images


देशभर पछिल्लो २४ घण्टामा थप ३५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणबाट थप चार जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय सात हजार ९६ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७५ हजार ३३० पुगेको छ ।

एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३८ हजार ५६४ रहेको छ । पछिल्लो समय एक हजार २७२ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५० हजार ५६ पुगेको छ । यो दर ९६ दशमलव चार प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । 

चारको मृत्यु 

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९१७ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप चार जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणबाट हुने मृत्युदर १.२ प्रतिशत रहेको छ । 

त्यसैगरी पछिल्लो समय सात लाख ६९ हजार ५७६ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ३५७ रहेको छ । अहिले होमआइसोलेशनमा १२ हजार ८२८ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा ५२९, आइसीयूमा १४२ र भेन्टिलेटरमा १७ जनाले उपचार गराइरहेका छन् । 

शनिबार ७ फागुन २०७८ ०५:३६ PM मा प्रकाशित

प्रतिक्रिया