×

सुप्रिम सहकारीको रकम ठगी प्रकरण- रवि र छविविरुद्ध रुपन्देहीमा मुद्दा दायर

images

काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको हो । सरकारी वकिल कार्यालयकी सूचना अधिकारी उमाकुमारी केसीले मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको बताइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित यो सहकारी ठगी प्रकरणमा ४२ जना प्रतिवादी पुगेका छन् । गितेन्द्रबाबु राईसहित २८ जनाविरुद्ध यसअघि नै अभियोग दायर भइसकेको थियो । आजको थप अभियोगमा प्रतिवादी जिबी राईसहित १७ जनाविरुद्ध संगठित अपराधको कसुर पनि समावेश गरिएको छ ।

पहिले नै मुद्दा दायर भइसकेकाहरुको कसुरमा थप कसुर र विगो थप गरेर अभियोग लगिएको र पुरक अभियोग आज दर्ता हुने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।  पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रवि यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी गठीमा ६० लाख धरौटी तिरेर रिहा भएका थिए । छविले पोखरामा ८८ लाख धरौटी तिरेका थिए । उनी आजमात्र जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् । अहिले उनको बयान चलिरहेको छ ।

बुटवलस्थित सुप्रिम सहकारी ऋण तथा बचत सहकारी संस्थाका १० हजार ३ सय ९१ जना बचतकर्ताको १ अर्ब १२ करोड भन्दा बढी रकम अपचलन भएको छ । कास्की प्रहरी हिरासतमै रहेका बेला कात्तिक ८ गते जिल्ला अदालत रूपन्देहीबाट पनि लामिछानेलाई पक्राउ पुर्जी जारी भएको थियो । कास्की प्रहरीमा अनुसन्धान भइरहेका बेला कात्तिक २७ गते भैरहवा ल्याएर रूपन्देहीको सुप्रिम सहकारी ऋण तथा बचत संस्थाको रकम अपचलन सम्बन्धमा बयान भएको थियो । तीन दिनसम्म बयान गराएर लामिछानेलाई पुनः कास्की नै लगिएको थियो । यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा गत वैशाख ३ गते रूपन्देही जिल्ला अदालतमा दर्ता भएको थियो । सुरु मुद्दाका आधारमा सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ पुर्पक्षका लागि थुनामा छन् । कर्मचारी रोशनी गुरुङ, सुप्रिम सहकारीका पूर्व सचिव एवं पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसहित ६ जनालाई धरौटीमा छोड्न अदालतले आदेश दिएको थियो ।

आइतबार​ ६ माघ २०८१ ०१:५१ PM मा प्रकाशित

प्रतिक्रिया