×

खो खो विश्वकप : उपाधिका लागि नेपाली महिला र पुरूष टोलीले भारतसँग प्रतिस्पर्धा गर्दै

images

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष टिमले खो खो विश्वकपको उपाधिका लागि आज घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्दै छ । हिजो भएको सेमिफाइनलमा नेपालले उपाधि दाबेदार इरानलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । भारतले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई २० अंकले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको थियो । नेपालले भारतसँग पराजित हुँदै विश्वकप यात्रा सुरू गरेको थियो । नेपाल सोही हारको बदला लिने योजनामा हुनेछ ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी स्टेडियममा इरान विरुद्ध नेपालले टस जितेर पहिले डिफेन्स रोजेको थियो । अपराजित रहँदै अन्तिम चारमा पुगेको इरानले अपेक्षाकृत प्रदर्शन गर्न सकेन । अट्याकमा रहेको इरानलाई नेपालले ८ अंक मात्र जोड्न दियो । नेपालले ड्रिम रनमा तीन अंक बटुल्यो । टर्न टुको सात मिनेटमा नेपालले ३२ अंक हात पार्‍यो । समग्रमा नेपालले ३५-८ को अग्रता सहित इरानमाथि पकड जमाएको थियो । 

तेस्रो टर्नमा डिफेन्समा रहेको नेपालले एक अंक प्राप्त गर्यो । तेस्रो टर्नमा इरानले १२ अंक जोडेको थियो । चौथो टर्नमा ५२ अंक थपेपछि नेपाल समग्रमा ७२-२० को जित सहित उपाधि नजिक पुगेको हो । जनक चन्द ‘प्लयेर अफ द म्याच’ बने । समूह चरणमा भारतसँगको हारपछि नेपालले उत्कृष्ट पुनरागमन गर्‍यो । समूह चरणमा नेपालले पेरु, ब्राजिल र भुटानलाई हरायो । क्वार्टरफाइनलमा बंगलादेशमाथि जित दर्ता गरेको थियो । इरानले भने जारी विश्वकपमा बेहोरेको यो नै पहिलो हार हो । 

फाइनल खेल नेपाली समयअनुसार राति साढे ८ बजे सुरू हुनेछ । आजै नेपालको महिला टोलीले पनि भारत विरुद्ध नै महिलातर्फको उपाधिका लागि खेल्दै छ । खो खो खेल खासै चर्चित नभएपनि अहिले भइरहेको खो खो विश्वकपबाट भने यस खेलले राम्रै चर्चा पाएको छ । पहिलोपटक विश्वकप हुँदा नै नेपालको पुरुष र महिला टोली फाइनल पुगेपछि नेपालमा पनि अहिले खो खो खेलको बारेमा चर्चा बढेको छ ।

कुनै हल्ला नगरिकन चुपचाप एक महिना क्लोज क्याम्प राखेर भारतको नयाँ दिल्ली पुगेको नेपाली खो खो टोलीले विश्वकपमा सनसनी मच्चाउँदा अहिले समग्र नेपाली खेल जगतमा खो खो खेलको पनि चर्चा धेरै छ ।  भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी स्टेडियममा भएको सेमिफाइनल खेलमा नेपालले युगान्डालाई  ८९–१८ ले हरायो ।

हिजो भएको क्वाटरफाइनल खेलमा इरानलाई हराउँदै नेपाली टोली सेमिफाइनलमा पुगेको थियो । यस्तै समूह चरणमा पनि नेपाल अपराजित हुँदै शीर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको थियो । नेपाली महिला टोलीले समूह चरणमा पहिलो खेलमा भुटान, दोस्रो खेलमा जर्मनी, तेस्रो खेलमा श्रीलङ्का र चौथो खेलमा बङ्गलादेशलाई हराएको थियो ।

आइतबार​ ६ माघ २०८१ ०९:०४ AM मा प्रकाशित

प्रतिक्रिया