×

सहकारी ठगी आरोपमा लामिछानेसहित विभिन्न कम्पनीका १४ जनाविरूद्ध पक्राउ पुर्जी , रविले भने, ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो'

images

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राज्यले आफूमाथि दादागिरी गरेकोले डटेर सामना गर्न अपिल गरेका छन्। सहकारी ठगी र संगठित अपराधमा लामिछानेमाथि शुक्रबार कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। लगत्तै पार्टी केन्द्रीय कार्यालय च:मतिमा प्रहरीहरू लामिछानेलाई पक्राउ  गर्न पुगेका थिए।

पक्राउ पर्नुअघि लामिछानेले पार्टी कार्यालयमा भेला भएका नेता कार्यकर्तालाई सम्बोधन गर्दै राज्यले दादागिरी देखाएकोले डटेर सामना गर्न अपिल गरेका छन्। ‘देशले आशा र भरोसा गरेको थियो त्यसमाथि प्रहार भएको छ। यो प्रहारलाई हामी सामना गर्नेछौं। म कुनै पनि किसिमको न्यायिक जाँच दिनको लागि अदालती प्रक्रियालाई सम्मान गर्न चाहन्छु,’ उनले भने, ‘तर यो राजनीतिक पूर्वाग्रहमा खुलेर लड्न अपिल गर्न चाहन्छु।’

रास्वपा फुटाउने र आफूलाई चुनाव नै लड्न नदिने गरी प्रतिशोध साँध्न खोजिएको उनको भनाइ थियो। ‘मैले कुनै पनि अपराध गरेको छैन, राज्यले सम्पूर्ण स्रोत र शक्ति लगाएर यो कार्य गरेको छ यसलाई नेपाली नागरिकले हेरेका छन्,’ उनले भने, ‘राज्यले गरेको यो दादागिरीलाई डटेर सामना गर्न  यहाँहरूलाई साहस मिलोस् भन्न चाहन्छु।’

उनलाई गाडीमा राखेर प्रहरीले पोखरा लैजाने भएको छ। सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत ठगी र संगठित अपराधमा अनुसन्धान गर्न रवि लामिछानेसहित १४ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

कास्की जिल्ला अदालतले शुक्रबार उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। पक्राउ पुर्जी जारी हुनेहरूमा सुर्यदर्शन सहकारीबाट गैरकानुनी रूपमा रकम लगेका विभिन्न कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद लामिछाने गोरखा मिडिया प्रालिद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजनको प्रमुख कार्यकारी अधिकृत एवं टेलिभिजन सञ्चालकका रूपमा रहँदा टेलिभिजनमा सहकारीबाट गैरकानुनी रूपमा रकम लगेको र उक्त रकम अपचलनमा दोषी देखिएकाले अनुसन्धान गर्न अदालतसँग पक्राउ अनुमति लिएको प्रहरीले जनाएको छ।

पक्राउ पुर्जी जारी भएका अन्य व्यक्तिहरू पनि उक्त सहकारीबाट गैरकानुनी रूपमा कम्पनीमा रकम लगेका व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ। 

पक्राउ पुर्जी जारी हुनेहरूमा विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अलि सिद्धिकी, दीपक लामा, अनन्तबाबु राई, रामबहादुर खनाल, देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, विरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठ रहेका छन्।

उनीहरू सबै सुर्यदर्शन सहकारीबाट विभिन्न कम्पनीमा रकम लगेर अपचलनमा सहभागी देखिएकाले अनुसन्धान गर्न पक्राउ अनुमति लिएको कास्की प्रहरी प्रवक्ता बसन्त शर्माले जानकारी दिए। अदालतबाट पक्राउ अनुमति पाएसँगै लामिछानेलाई पक्राउ गरी पठाइदिन नेपाल प्रहरी केन्द्रीय कार्यालयलाई कास्की प्रहरीले पत्राचार गरिसकेको छ।

सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले गत माघ २२ गते नै कास्की प्रहरीमा लामिछानेसहित विभिन्न १८ वटा कम्पनीविरूद्ध पुरक जाहेरी दिएका थिए। जाहेरी दिएको ८ महिनापछि मात्र प्रहरीले उनीहरूविरूद्ध अनुसन्धान गर्न सक्रियता बढाएको हो।

सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय जनाले बचत राखेको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रूपैयाँ अपचलन भएको छानबिन समितिले जनाएको छ। यसरी बचत अपचलन गर्दा सहकारीले कानुन विपरीत गैरसदस्यलाई ऋण दिएको, कम्पनीमा लगानी गरेको लगायत निष्कर्ष निकालेको छ।

सहकारीको बचत अपचलन मुद्दामा शिवबहादुर गुरूङ ‘महेन्द्र भोटे’ भविश्वर अर्याल, सहकारीका कोषाध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका म्यानेजर कुमार रम्तेल, सहकारीका पूर्व उपाध्यक्ष कैलाशकुमार दर्लामी मगर, सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पुर्पक्षका लागि थुनामा छन्।

सुर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार मानिएका पूर्वअध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जिबी राई, उनका दाजु भूपेन्द्र राई, थानबहादुर बुढा, धीरजकुमार दास लगायत अझै फरार छन्। कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सरकार मरेर आफूलाई जुठो परेको बताएका हुन् । 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दै लेखेका छन्, ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी ? तपाई  बिचौलियाको सेवा गरे बापत लाखौँको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपी दिनुपर्ने ?’

लामिछानेलाई सहकारीको रकम अपचलन आरोपमा प्रहरीले शुक्रबारै पक्राउ गरिसकेको छ । 

शुक्रबार​ २ कात्तिक २०८१ ०८:३७ PM मा प्रकाशित

प्रतिक्रिया