×

रास्वपाका सभापति रवि लामिछाने पक्राउ

images

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन्। लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टिमले पार्टी कार्यालयबाट पक्राउ गरेको हो।

पक्राउ अघि रास्वपा कार्यालय अगाडि उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफुले कुनै सम्झौता नगरेको कारण पक्राउ गरिएको दावी गरेका छन्। उनले राज्यले आफ्नो सम्पूर्ण शक्ति लगाएर आफूलाई पक्राउ गरेको बताउँदै आफ्ना कार्यकर्तालाई राज्यको यो कदमको डटेर सामना गर्न अपिल गरेका थिए।

उनले आफुले न्यायिक प्रक्रियामा सहयोग गर्ने बताएका थिए। छोटो सम्बोधनपछि लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउको क्रममा पार्टी कार्यालय उपस्थित रास्वपाका कार्यकर्ताले नाराबाजी गरेका थिए।

प्रहरीले लामिछानेलाई आजै सडकको बाटो हुँदै पोखरा लैजाने भएको छ। सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्धा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

पूर्वडीआईजी छविलाल जोशी, राई र लामिछानेले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ ।

लामिछाने गोर्खा मिडियाका निर्देशक थिए । गोर्खा मिडियामा आएको रकम लामिछानेले खर्च गरेका हुन् । रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी असोज ६ मा पक्राउ परेका थिए ।


 

शुक्रबार​ २ कात्तिक २०८१ ०८:१८ PM मा प्रकाशित

प्रतिक्रिया