काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले फागुन ११ गते निर्वाचन घोषणा भइसकेको अवस्थामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने षड्यन्त्र भएको बताएका छन् ।
पार्टीका उपाध्याक्ष अब्दुल खानसहित ६ जना नेताहरूले राउतलाई राजीनामा दिन २४ घन्टे अल्टिमेटम दिएपछि राउतले यस्तो समयको अभाव भएको बेलामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने षड्यन्त्र भएको भन्दै यसमा ध्यान नदिन र यस विषयमा छलफल बहस गरेर समय खेर नफाल्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
राउतले भनेका छन्-
फाल्गुन २१ निर्वाचनसम्म अन्यत्र ध्यान नभट्काऔं, अन्यत्र शक्ति खेर नफालौं । पहिला निर्वाचनमा जनमत पार्टीलाई नम्बर १ विजयी पार्टी बनाउनेतिर लागौं । फाल्गुन २१ गतेको लागि निर्वाचनको घोषणा भइसकेको छ, सबैदलहरूले मानिसकेका छन् र तैयारीमा जुटिसकेका छन्, निर्वाचन आयोग पनि तैयारीमा जुटिसकेको छ । हामीसँग धेरै समय छैन । मुश्किलले साढे ५ महिना समय छ । दुई-तीन महिनापछि पार्टी दर्ता गर्ने र समानुपातिक सूची बुझाउने समय पनि आइसक्छ । यस्तो समयको अभाव भएको बेलामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने र थकाउने षड्यन्त्र हुँदैछ ।
त्यसैले अरूले जे-जस्तो गरे पनि हामीले ध्यान नदिऔं, त्यसको पछि लागेर, त्यो विषयमा छलफल बहस गरेर, पोस्ट गरेर हामी समय खेर नफालौं । हामी सबभन्दा पहिला हाम्रो लागि जुन महाभारत हो, अग्निपरीक्षा हो, त्यस निर्वाचनको तैयारीमा गाउँगाउँ टोलटोलसम्म जुटौं । नौलो गणतन्त्र नै आगामी निकास हो प्रचार गरौं, बूथ समिति र युवा दस्ता गठन गरौं, प्रशिक्षण दिऔं, परिचालन गरौं । हरेक निर्वाचन क्षेत्रमा चुनाव कसरी जित्ने त्यतातिर लागौं । निर्वाचन पछि सबै कुराको छलफल बहस हुने नै छ । निर्वाचनमा पूरा मधेश कब्जा गरेर र देशकै निर्णायक शक्ति बनेर हामी देखाऔं । त्यो नै हाम्रो विजय हुनेछ ।
प्रतिक्रिया