×

मधेस प्रदेशबाहेक सबैजसो ठाउँको मौसम बदली, खण्ड–खण्ड रूपमा परेको पानीले पहाडी क्षेत्रमा केही शीतल

images

अहिले मधेस प्रदेशबाहेक देशका सबैजसो ठाउँको मौसम बदली भएको छ । धेरैजसो ठाउँमा खण्ड–खण्ड गरेर पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कुनै एक ठाउँमा एकैछिन पानी पर्ने, रोकिने अनि फेरि नजिकै अर्को ठाउँमा पानी पर्ने भइरहेको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसोपख स्थानीयरूपमा बनेको वायुका कारण मौसम बदली भएको हो । अहिले काठमाडौँ उपत्यका सहित देशभरका बिभिन्न ठाउँमा हल्का पानी परीरहेको छ । 

मधेसप्रदेश बाहेक सबैजसो ठाउँमा पानी परिरहेको भए पनि कुनै एक ठाउँमा पानी पर्दा अर्को ठाउँमा परेको छैन । तर बादल विकास भएकाले हिजोरअस्तिको तुलनामा आज शीतल महसुस भएको छ । केही दिनयता चर्केको घामका कारण तराई मधेसमा गर्मी भए पनि पहाडी क्षेत्रमा आज केही राहत महसुस गरिएको छ । 

गर्मी सुरु भएपछि हिजो काठमाण्डौमा यो वर्षकै सबैभन्दा धेरै ३२ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । आज काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा शीतल महसुस गरिएको छ । तराई–मधेसमा भने गर्मीका कारण जनजीवन प्रभावित भएको छ । मधेस प्रदेशमा आज पनि पानी पर्ने सम्भावना नभएको नगरकोटीले बताउनुभयो । देशका अरू ठाउँमा भने आज र भोली छिटफुट पानी पर्ने अनुमान छ ।

भोलि बेलुकादेखि भने मनसुनी न्यून चापीय रेखाको प्रभावका कारण देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

सोमबार २ साउन २०७९ ०३:०४ PM मा प्रकाशित

प्रतिक्रिया