×

उल्भ्सलाई हराउँदा लिभरपुललाई राहत

images

लन्डन । इंग्लिस फुटबलमा अहिले संकटबाट गुज्रिरहेको टिममा पर्छ, लिभरपुल । यही टिमले मंगलबार एफएकपको चौथो चरणमा प्रवेश गर्दा ठूलो राहत महसुस गरेको छ । हार्भी इलिटको निर्णायक गोलको मदतले लिभरपुलले उल्भ्सलाई १–० ले पराजित गरेको हो । गत सिजन चार उपाधिका लागि चुनौती पेस गरेको लिभरपुल यसपल्ट फिक्का सावित भएको छ ।
यसअघि लिभरपुल इंग्लिस प्रिमियर लिगमा ब्राइटन र ब्रेन्टफोर्डसँग लगातार दुई खेल पराजित रहेको थियो । यससँगै क्लोप र टिमको चर्को आलोचना सुरु भएको थियो । उल्भ्सविरुद्धको ‘रि–म्याच’ अगाडि क्लोपले आफू लिभरपुलको व्यवस्थापक पद छाड्ने मनसायमा नभएको समेत भन्नु परेको थियो ।
उल्भ्सको घरेलु मैदानमा भएको खेलमा इलिटले भने पहिलो हाफमा लामो दूरीबाट निकै आकर्षक गोल गरे । संयोग कस्तो भने चौथो चरणमा लिभरपुलले ब्राइटनकै सामना गर्नेछ । अन्य तेस्रो चरणका खेलमा बर्मिङ्घमले फरेस्ट ग्रिनलाई २–१, ब्रिस्टल सिटीले स्वान्सीलाई २–१, लुटन टाउनले विगनलाई २–१ ले वेस्ट ब्रुमले चेस्टरफिल्डलाई ४–० ले हरायो । 

बुधबार ४ माघ २०७९ १०:०७ AM मा प्रकाशित

प्रतिक्रिया