पोखरा । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको कास्की प्रहरीले रास्वपा सभापति रवि लामिछानेसहितका व्यक्तिहरुलाई आज जिल्ला अदालतमा उपस्थित गराएको छ । प्रहरीले गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई अदालतमा उपस्थित गराएको हो ।
लामिछाने माथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा मुद्दा दर्ता गराउने तयारीमा प्रहरी पुगेको छ। अनुसन्धानका अझै जारी रहेको भन्दै आज म्याद थपका लागि अदालत लगिएको हो।
डीएसपी वसन्तकुमार शर्माले सञ्चारकर्मीलाई दिएकाे जानकारी अनुसार कास्की अदालतमा सूर्यदर्शन सहकारी ठगीमा संलग्न ठानिएका लामिछानेसहित ५१ जना प्रतिवादी र १ अर्ब ५१ करोड बीगो माग गरिने भएकाे छ। लामिछानेविरुद्ध पुस ५ गते जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन अनुसन्धान गर्न पाउने भएकाले पुस ५ गते उनीविरुद्ध अभियोग पत्र दायर गर्न लागिएको हो।
पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेको मितिले पुस ५ मा ९० दिन पुग्ने भएकाले लामिछानेलाई पनि जोशी पक्राउ गरेको मितिबाट म्याद मिलाइएको छ। उनलाई प्रहरीले गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगेको थियो। पछिल्लो दुई महिनामा उनलाई कास्की, काठमाडौं, चितवन र पर्सा अदातलमा उपस्थित गराएर अनुसन्धान भइरहेको छ।
पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा लामिछाने कात्तिक २ गते पक्राउ परे पनि उनका व्यावसायिक साझेदार गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी असोज ६ गते नै पक्राउ परेका थिए। त्यही दिनदेखि गणना हुने कानुनी व्यवस्थाअनुसार आउने शनिबार ९० दिन पूरा हुँदै छ।
यस हिसाबले अब रविलाई हिरासतमा राख्न बाँकी म्याद ४ दिन मात्र छ। सोही कारण आज थपिने म्याद अन्तिम हुनेछ। रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गराउन राय दिँदै प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ। उक्त प्रकरणमा प्रहरीले रवि लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सोमबार बुझाएको हो।
प्रतिक्रिया