×

गरियो विश्वकर्मा पूजा, मनाइयो वास्तु दिवस

images

कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरूले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाएका छन् ।
 
विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीर राखी विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाइएको हो । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराई यो दिवस मनाइन्छ । बालुवा वा अन्य चिजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती नदीको मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध जल भएको स्थलमा लगी सेलाउने गरिन्छ ।
  
आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद  द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ । विश्वकर्मा प्रकाश नामक वास्तुशास्त्रको ग्रन्थ उहाँले नै तयार पार्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउनुहुन्छ ।

यही सम्झनामा नेपालका कालीगढहरूले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्दछन् ।
 
वास्तु शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरूले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुकै विषय उल्लेख गरिएको छ ।

शनिबार १ असोज २०७९ ०७:३८ PM मा प्रकाशित

प्रतिक्रिया