गोरखा, १ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोरखा क्षेत्र नम्बर १ का सांसद एवं बहालवाला गृहमन्त्री सुधन गुरुङले मतदाताको माग तत्काल पूरा गर्न नसक्ने भन्दै आक्रोशित रूपमा 'भोट फिर्ता' लैजान आग्रह गरेका छन् । गृहजिल्ला गोरखाको शहिद लखन गाउँपालिका–९ मा आयोजित मतदातासँगको अन्तर्क्रिया कार्यक्रममा मन्त्री गुरुङले यस्तो विवादास्पद अभिव्यक्ति दिएका हुन् ।
चुनावी वाचा अनुसार बजेट नआएको विषयमा स्थानीय बासिन्दाले प्रश्न उठाएपछि मन्त्री र जनताबीच भनाभन भएको थियो ।
ल्याबको बजेट माग्दा मन्त्रीको आक्रोश
स्थानीय निर्वाचन क्षेत्रका बासिन्दाहरूले चुनावी अभियानका क्रममा गुरुङ आफैँले स्वास्थ्य चौकीका लागि ल्याब (प्रयोगशाला) स्थापना गर्ने प्रतिबद्धता जनाएको स्मरण गराएका थिए। हालै सार्वजनिक बजेटमा सो योजनाका लागि रकम विनियोजन किन नभएको भनी प्रश्न गर्दा मन्त्री गुरुङ एकाएक आक्रोशित बने ।
उनले चार महिना सरकारमा बस्दैमा जादुमयी ढङ्गले कायापलट गर्न नसकिने तर्क गरे । "चार महिनामै सबै प्रतिफल खोजेर हुँदैन," मन्त्री गुरुङले थपे, "तुरुन्तै काम चाहिन्छ भने बरु आफ्नो भोट फिर्ता लैजानुस्, ५ वर्षसम्म धैर्य गर्न सक्नुपर्छ।"
विकासका अन्य एजेण्डामा पनि छलफल
भेटघाटका क्रममा स्थानीयहरूले ल्याबको मागसँगै गाउँपालिकाका सडक स्तरोन्नति, रासायनिक मलको अभाव र खानेपानीको विकराल समस्याबारे पनि मन्त्रीको ध्यानाकर्षण गराएका थिए । सुरुमा ती समस्याहरू सरकारले बिस्तारै सम्बोधन गर्ने आश्वासन दिए पनि बजेटको जवाफदेहिता माग्दा उनले भोट फिर्ता लैजान भनेपछि स्थानीय मतदाताहरू आक्रोशित बनेका छन् ।
स्टन्ट र विवादको शृङ्खला
'हामी नेपाल' संस्थाका संयोजक र 'जेन-जी' आन्दोलनको रापतापबाट राजनीतिमा उदाएका गुरुङ उपनिर्वाचनमार्फत सांसद बन्दै गृहमन्त्री बन्न सफल भएका हुन् । यसअघि आर्थिक पारदर्शिताको प्रश्न उठेपछि उनले एकपटक राजीनामा दिएका थिए, तर छानबिन समितिले क्लिनचिट दिएको भन्दै उनी पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका थिए । आफ्ना मन्त्रीले मतदातालाई नै 'भोट फिर्ता लैजाऊ' भनेपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा उनको तीव्र आलोचना भइरहेको छ।
प्रतिक्रिया