×

भदौमा झनै घट्यो बैंकहरूको ब्याजदर: नबिल र प्रभुको बढी, सिद्धार्थ र कुमारीको कम

images

काठमाडौँ, १ भदौ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिने क्रम (उच्च तरलता) जारी रहेपछि वाणिज्य बैंकहरूले भदौ महिनाका लागि निक्षेपको औसत ब्याजदर पुनः घटाएका छन्। सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये ५ वटा बैंकले साउनको तुलनामा ब्याजदर कटौती गरेका छन् भने बाँकी १५ वटा बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन्। भदौ महिनाका लागि कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन् ।

नयाँ तालिका अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर साउनको ४.१६७ प्रतिशतबाट घटेर ४.१३६ प्रतिशतमा झरेको छ।

नबिल र प्रभुमा सबैभन्दा बढी, कुमारी र सिद्धार्थमा कम

भदौ महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ नबिल बैंक र प्रभु बैंकले सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर कायम राखेका छन्। यता साउनको तुलनामा सबैभन्दा धेरै (०.२९ प्रतिशत बिन्दुले) ब्याजदर घटाएको सिद्धार्थ बैंक र कुमारी बैंकको ब्याजदर सबैभन्दा कम ३.७६ प्रतिशत कायम भएको छ ।

भदौका लागि वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती ब्याजदर (अधिकतम दर):

  • नबिल बैंक: ४.५५ प्रतिशत (स्थिर) 
  • प्रभु बैंक: ४.५५ प्रतिशत (स्थिर) 
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंक: ४.५० प्रतिशत (स्थिर) 
  • एनएमबी बैंक: ४.५० प्रतिशत (स्थिर) 
  • सानिमा बैंक: ४.५० प्रतिशत (स्थिर) 
  • माछापुच्छ्रे बैंक: ४.५० प्रतिशत (स्थिर) 
  • कृषि विकास बैंक: ४.१५ प्रतिशत (स्थिर) 
  • नेपाल बैंक: ४.१५ प्रतिशत (०.१०% घट्यो) 
  • नेपाल एसबीआई बैंक: ४.१० प्रतिशत (स्थिर) 
  • एभरेस्ट बैंक: ४.०५ प्रतिशत (स्थिर) 
  • हिमालयन बैंक: ४.०० प्रतिशत (स्थिर) 
  • लक्ष्मी सनराइज बैंक: ४.०० प्रतिशत (स्थिर) 
  • एनआईसी एसिया बैंक: ४.०० प्रतिशत (स्थिर) 
  • राष्ट्रिय वाणिज्य बैंक: ४.०० प्रतिशत (स्थिर) 
  • प्राइम कमर्सियल बैंक: ४.०० प्रतिशत (स्थिर) 
  • ग्लोबल आइएमई बैंक: ४.०० प्रतिशत (स्थिर) 
  • सिटिजन्स बैंक: ३.८५ प्रतिशत (०.१०% घट्यो) 
  • स्ट्यान्डर्ड चार्टर्ड बैंक: ३.८० प्रतिशत (०.०५% घट्यो) 
  • कुमारी बैंक: ३.७६ प्रतिशत (०.०९% घट्यो)
  • सिद्धार्थ बैंक: ३.७६ प्रतिशत (०.२९% घट्यो) 

संस्थागत निक्षेप र कर्जाको ब्याजमा पर्ने प्रभाव

व्यक्तिगतसँगै संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि साउनको ३.११६ प्रतिशतबाट घटेर ३.०८१ प्रतिशतमा सीमित भएको छ । संस्थागततर्फ नेपाल इन्भेष्टमेन्ट मेगा र एनएमबीसहितका बैंकले अधिकतम ३.५ प्रतिशत र प्रभु, कृषि विकास, ग्लोबल आइएमई लगायतका बैंकले सबैभन्दा कम २.७५ प्रतिशत ब्याजदर तोकेका छन् ।

निक्षेपको ब्याजदर लगातार ओरालो लागेका कारण बैंकहरूको आधार दर (Base Rate) घट्नेछ, जसका कारण आगामी महिनाहरूमा ऋण लिनेहरूका लागि कर्जाको ब्याजदर अझ सस्तो हुने बैंकिङ विज्ञहरूको भनाइ छ ।

सोमबार १ भदौ २०८३ ०९:३९ AM मा प्रकाशित

प्रतिक्रिया