×

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

images

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिमा पुनरागमनको विषयलाई प्रवेश गराएका छन् । केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा अध्यक्ष ओलीले भण्डारीको विषयमा कुरा राखेको सचिव योगेश भट्टराईले जानकारी दिएका छन् । भट्टराईले भने- उहाँले पार्टीको सिस्टम बुझ्नु भएको छ र फर्किन्छु भनेर आफ्नो सेवा सुबिधा त्यागेर आनुहुन्छ भने अब यो पार्टीको विषय हो । अध्यक्षले त्यस विषयमा आवश्यक परे छलफल गरौँ भन्नुभएको छ । आजको बैठकमा भ्याइएन भनेपनि अर्को बैठकमा छलफल हुन्छ । यो पार्टीको छलफलको विषय भइसक्यो। छलफल गरेर टुङ्गो लाग्छ ।'

२- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था नरहेको बताएका छन् । पत्रकार विजयकुमार पाण्डेलाई दिएको अन्तर्वार्तामा ओलीले भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था नरहेको बताएका हुन् । उनले भनेका छन्- 'अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्ने सकिने अवस्था छैन । किनभने एक त उहाँ राजनीतिमा आउनुहुन्छ भनेर पार्टीले ठानेको मानेको अवस्था छैन ।' 

३- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले विवादित अडियो प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । बिहीबार सिंहदरवारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले आफ्नो चरित्र हत्या गरिएको बताए । उनले भने- 'आफ्नो अभिष्ट पूरा गर्न यहाँ आएका थिए । मैले हुन्न भनेपछि यी कुराहरू आएका हुन्। कुन नियतबाट ल्याइएको भन्ने कुरा प्रस्ट हुन्छ । अडियोमा सुनिएका सरोकारवाला व्यक्तिहरू हामीसँग सम्बन्धित होइनन् । मेरो बोली त्यहाँ छ कि छैन भन्ने पनि जागजहेर छ । जग्गा, जमिनका र सरुवाका कुरा पनि आइरहेका छन् । सरुवा मन्त्रालयको नियमित प्रक्रियाको कुरा हो ।'

४- गृहमन्त्री रमेश लेखकले छाउगोठ बनाएको पाइए र महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य पार्नेलाई स्थानीय तहबाट पाउने निश्चित सुविधामा पुर्नविचार गर्ने गरी मुलुकभरका स्थानीय तहलाई परिपत्र गरिने बताएका छन् । बिहीबार अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीहरुसितको भेटघाटमा मन्त्री लेखकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरी देशभरका स्थानीय तहलाई यस्तो परिपत्र गर्ने गरी गृहकार्य गरिने बताए ।

५- नेकपा एमालेले राष्ट्रिय सभाको प्रमुख सचेतकमा गोपाल भट्टराईलाई मनोनीत गरेको छ । प्रमुख सचेतक भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएपछि एमालेले प्रमुख सचेतकको जिम्मेवारी भट्टराईलाई दिएको हो । 

६- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आज ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित विशेष कार्यक्रममार्फत 'श्रम र उत्पादनमा वाइसिएल अभियान' को औपचारिक उद्घाटन गरेका छन् ।  कार्यक्रममा प्रचण्डले श्रममा प्रत्यक्ष सहभागी हुँदै इँटा लगाउने, घाँस काट्ने, वृक्षारोपण गर्ने, चौरको सरसफाइ गर्ने जस्ता कार्यहरूमा युवा स्वयंसेवकहरूसँग श्रम गर्दै सहकार्य गरेका थिए । प्रचण्डले वाइसिएल नेपालले नीतिगत निर्णयमार्फत राष्ट्रिय रूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई माओवादी केन्द्रले अघि सारेको 'उत्पादन ब्रिगेड' को निरन्तरता र एक महत्वपूर्ण आयाम भएको उल्लेख गरे ।

७- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम तोकिएको समयमा सम्पन्न नहुदा हर्जाना तिरेर काम गरिरहेको बताएका छन् ।  प्रधनमन्त्री ओलीले सरकारले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड पुरस्कारको व्यवस्था गरेको उल्लेख गर्दै सरकारी निर्माण सम्बन्धी भइरहेका अन्य काममा पनि यसलाई पालना गराउन लागेको बताएका छन् । रंगशालाको मैदानको प्यारापिट बनाउन बीकेओआई केसीडीसी बीजी जेभी र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीसँग फागुन १९ र २२ गते सम्झौता भएको थियो । प्यारापिटको लागि ४९ करोड २५ लाख र फ्लडलाइटको लागि ४७ करोड ३७ लाख रुपैयाँमा सम्झौता भएको थियो । सहरी विकास मन्त्रालयका अनुसार ठेकेदार कम्पनीले सम्झौताअनुसार काम समयमा नसकाएका कारण दैनिक जरिवाना लागु भएको छ । सम्झौतामा योजनाको कुल लागतको ०.०५ प्रतिशत दैनिक हर्जाना तिर्नुपर्ने व्यवस्था छ, जसअनुसार ठेकेदार कम्पनिले दैनिक करिब दुई लाख जरिवाना तिरेर अहिले द्रुतगतिमा काम गरिरहेको छ ।

८- बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक-सिन्धुली खण्डमा आजदेखि रातिको समयमा १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलमा सम्पन्न सुरक्षा समिति बैठकले विपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि राति सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।  

९- नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से ७५.८४ अंकले बढेर २८७०.६३  विन्दुमा रोकिएको छ । आजको कारोबारमा विभिन्न ३११ कम्पनीका ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता शेयर १६ अर्ब ५९ करोड २१ लाख ५ हजार ४५५ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

१०- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलामा ३ सयले बढेर तोलाको एक लाख ९२ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ९२ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको २२६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

११- आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ ।  आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि हो । आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०८१/०८२ मा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अर्ध वार्पिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व संकलन भएको छ । 

१२- यूएईको जेलमा रहेका १२० नेपाली नागरिकले आममाफी पाएका छन् । यूएईको आवुधावीस्थित नेपाली राजदूतावासले यूएई सरकारले ईस्लाम धर्मालम्बीहरुको महान पर्व ईद अल-अदाहका अवसरमा विभिन्न घटनामा परेर जेलमा रहेका १२० नेपालीको बाँकी सजाय मिनाहा गरी आममाफी दिएको जानकारी दिएको हो ।

१३- बंगलादेशको ढाकामा जारी साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपालले श्रीलंकालाई ७-० गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि कुसुम खतिवडा र समिक्षा मगरले २-२ गोल गरे भने पुर्णिमा राई, बिर्साना चौधरी र सरिता कुमारीले एक एक गोल गरेका थिए । जारी च्याम्पियनसिपमा नेपालको यो चार खेलमा तेस्रो जित हो । यस अघि नेपालले श्रीलंकालाई ७-० गोल अन्तरमै पराजित गरेको थियो । त्यस्तै भुटानलाई ६-१ ले पराजित गरेको थियो भने बंगलादेशसँग ३-२ गोल अन्तरले पराजित भएको थियो । प्रतियोगितामा नेपालले अब अर्को खेल जुलाई १९ मा भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ । 

१४-  नेपाली राष्ट्रिय क्रिकेट टिमको क्लोज क्याम्प शुरु भएको छ । एसीसी पुरुष टी-२०  विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीको क्लोज क्याम्प शुरु भएको हो । क्लोज क्याम्पमा खेलाडीहरुले प्रशिक्षण शुरु गरेका छन् । एशिया आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने पुरुष टी-२० विश्वकपको एशिया र इष्ट एशिया प्यासिफिक छनौटमा नेपाल समुह बी मा परेको छ । समुह विभाजनमा नेपालको समुहमा जापान र कुवेत रहेका छन् । 

१५- स्पेनिस क्लब बार्सिलोनाले आफ्नो आइकोनिक १० नम्बर जर्सी युवा खेलाडी लामिन यमललाई दिएको छ । १८ बर्षिय यमलसँग २०३१ सम्म सम्झौता गरेपछि बार्सिलोनाले उनलाई १० नम्बर जर्सी दिएको हो । १० नम्बर जर्सी यसअघि अन्सु फातीले लगाउदै आएपनि उनले क्लब छोडेपछि यो खाली रहेको थियो । फाती लोनमा फ्रेन्च क्लब मोनाकोमा गएका छन् । बार्सिलोनामा १० नम्बर जर्सीलाई विशेष मानिन्छ । यस अघि यो नम्बरको जर्सी लियोनेल मेसी, रोनाल्डिन्हो र डिएगो म्याराडोना जस्ता लिजेण्ड खेलाडीले लगाएका थिए ।

१६- इटाली जारी महिला युरोकपको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा नर्वेलाई २-१ गोल अन्तरले पराजित गर्दै इटाली सेमिफाइनलमा पुगेको हो । इटालीको जितमा क्रिस्टियाना गिरेलीले दुवै गोल गरेकी थिइन् । त्यस्तै नर्वेका लागि एक गोल अदा हेगेरबर्गले एक गोल गरेकी थिइन् । अब सेमिफाइनलमा इटालीले स्विडेन र इङल्याण्डबीचको विजेतासँग खेल्ने छ । यो सेमिफाइनल खेल जुलाई २२ मा हुदैछ ।

१७-  नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबबाट खेल्ने भएकी छन् ।  साम्बाले अस्ट्रेलियाको प्रिमियर वुमन लिग निन्जा ए लिग खेल्न वेलिंगटन फिनिक्स फुटबल क्लबसँग दुई बर्षको सम्झौता गरेकी हुन् । क्लबले साम्बालाई दुई बर्षका लागि अनुबन्ध गरेको जानकारी दिएको छ । यसअघि साम्बाले दुई सिजन फ्रान्सको ए डिभिजन वुमन लिगमा इए गुइङ्ग्याम्पबाट खेलेकी थिइन् । साम्बाले गुइङ्ग्याम्पमा दुई सिजनमा २९ खेलमा ७ गोल गरेकी थिइन् ।   

१८- इराकको कात शहरको एक शपिङ मलमा भएको भीषण आगलागीमा ६१ जनाको मृत्यु भएको छ । अल जजिराका अनुसार मल भित्र रहेका ४५ जना भन्दा बढीको उद्धार गरिएको छ ।

१९- युलिया स्वीरिडेन्को युक्रेनको नयाँ प्रधानमन्त्री बनेकी छिन् ।  राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सिफारिसमा उनको नाम युक्रेनी संसदले अनुमोदन गरेको हो । युलिया यसअघि उपप्रधानमन्त्री र अर्थमन्त्री थिइन् । ३९ वर्षकी युलिया पेशाले अर्थशास्त्री हुन् । उनले २०२० देखि प्रधानमन्त्री पद सम्हालेका डेनिस श्मीहालको स्थान लिएकी छिन् । उपप्रधानमन्त्रीको रूपमा, स्वीरिडेन्कोले यस वर्ष अमेरिकी राष्ट्रपति ट्रम्पसँग खनिज सम्झौता सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्, त्यसपछि उनको अत्यधिक प्रशंसा भएको थियो ।

२०- अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले इरानी कूटनीतिज्ञ रेजा अमिरी मोघदमलाई आफ्नो मोस्ट वान्टेड सूचीमा थपेको छ । मोघदम हाल पाकिस्तानका लागि इरानका राजदूत रहेका छन् । मोघदममाथि २००७ मा अवकाशप्राप्त अमेरिकी एफबीआई एजेन्ट रोबर्ट लेभिन्सनको अपहरणको योजना बनाउन र ढाकछोप गर्न प्रमुख भूमिका खेलेको आरोप छ । लेभिन्सन मार्च ८, २००७ मा इरानको किश टापुमा पुगे र भोलिपल्ट अचानक बेपत्ता भएका थिए । अहिलेसम्म उनको बारेमा कुनै ठोस जानकारी फेला परेको छैन ।

बिहीबार २ साउन २०८२ ०८:१० PM मा प्रकाशित

प्रतिक्रिया