×

लुक्ला पुग्नै लाग्दा समिट एअरको इन्जिनमा समस्या, काठमाण्डौ फर्काएर सुरक्षित अवतरण

images

काठमाण्डौबाट लुक्लाका लागि उडेको समिट एअरको जहाजको एउटा इन्जिन फेल भएपछि काठमाण्डौमा सुरक्षित अवतरण गराइएको छ ।

आज आइतवार बिहान ११ बजेर ५ मिनेटमा चालक दलका सदस्यसहित १८ जना बोकेर उडेको जहाजको लुक्ला पुग्ने बेलामा बायाँ इन्जिनले काम गर्न छाडेको थियो । त्यसपछि पाइलटले दायाँ इन्जिनको भरमा जहाज फर्काएका थिए । लुक्लामा आकस्मिक अवतरणका लागि पूर्वाधार र सामग्री नभएकाले बिहान पौने १२ बजे काठमाण्डौमा अवतरण गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले उज्यालोलाई जानकारी दिनुभयो ।

सम्भावित दुर्घटना रोक्नका लागि काठमाण्डौमा दमकल, एम्बुलेन्सलगायत अत्यावश्यक सबै उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको थियो । जसका कारण १५ मिनेट विमानस्थलका अरू जहाज उडान अवतरण रोकिएको थियो ।  

जहाजमा १५ जना यात्रु र र तीन जना चालक दलका सदस्य रहेकामा १० जना विदेशी यात्रु थिए । अहिले विमानस्थल सामान्य तरिकाले चलिरहेको र अनुसन्धान सुरु भएको प्रवक्ता सिटौलाले जानकारी दिनुभयो । 

आइतबार​ ४ बैशाख २०७९ ०४:१६ PM मा प्रकाशित

प्रतिक्रिया