×

रास्वपा कोशी अध्यक्ष राजेश तिम्सिना निलम्बित

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  केन्द्रीय सदस्य समेत रहेका पार्टीका कोशी प्रदेश अध्यक्ष राजेश तिमिल्सिनालाई निलम्बन गरेको छ। निलम्बित महामन्त्री मुकुल ढकाललाई जिम्मेवारीमा फर्काउन पत्र लेखेको र प्रदेशमा सांगठनिक काममा ध्यान नदिएको कारण देखाउँदै रास्वपाले तिम्सिनलाई पार्टीबाट निलम्बन गरेको हो । गत १७ पुसमा पूर्व महामन्त्री ढकाललाई जिम्मेवारीमा फर्काउन माग गर्दै तिम्सिनासहित मधेश प्रदेशका सभापति तपेश्वर यादवले कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका थिए ।

पार्टी केन्द्रीय अनुसन्धान आयोगका प्रमुख भरतमणी देवकोटाले नियमावली २०८० को परिच्छेद ४ को नियम ४.१ (ख), नियम ४.१.१. (ख) तथा नियम ६.२.३.(झ) का आधारमा उनलाई निलम्बन गरिएको जानकारी गराएका छन् ।  

शुक्रबार तिमिल्सिनालाई आयोगले पत्र पठाएर जानकारी दिएको हो। 

'तपाईं उपर यस पार्टीको कोशी प्रदेश समितिका सदस्यहरू, पदाधिकारीहरू तथा जिल्ला सभापतिहरूले अनुसन्धान गरिपाऊँ भनी मिति २०८१।०९।१८ मा यस आयोग समक्ष दिएको उजुरी र यस आयोगको स्थलगत मूल्याङ्कन समेतका आधारमा भएको यस आयोगको मिति २०८१।१०।०४ को निर्णयले यस पार्टीको कोशी प्रदेश सभापति तथा प्रदेश समिति सदस्य समेतबाट अर्को निर्णय नभए सम्मका लागि केन्द्रीय अनुशासन आयोगको नियमावली २०८० को परिच्छेद ४ को नियम ४.१. (ख), नियम ४.१.१. (ख) तथा नियम ६.२.३. (झ) समेतले दिएको अधिकार प्रयोग गरी तपाईंलाई निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ। यस आयोगले तपाईं उपर गर्ने अनुसन्धानमा तपाईंको सहयोगको अपेक्षा गरिन्छ' तिमिल्सिनालाई थमाइएको पत्रमा भनिएको छ। 

शुक्रबार​ ४ माघ २०८१ ०८:५३ PM मा प्रकाशित

प्रतिक्रिया