×

पर्यटनमन्त्री किरातीको एक वर्षमा एक सय एक काम

images

काठमाडौँ, ३ माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले एक वर्षमा एक सय एक काम गरेको बताउनुभएको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्री किरातीले आफूले एक वर्षे कार्यकालमा नीतिगत र संरचनागत सुधारका लागि सकारात्मक प्रयास गरेको बताउनुभयो । 

“पद सम्हाल्दा धेरै चुनौती देखेको थिए । सुधारको प्रयास गरेको छु । अबको मुख्य काम नीतिगत र संरचनागत सुधार नै हो”, मन्त्री किरातीले भन्नुभयो । पदबहालीकै दिन माला खादा नलाउने र दुई देशबीचको सम्झौता हुने अवसरमा बाहेक विदेश नजाने घोषणा गर्नुभएका मन्त्री किरातीले स–साना कामबाट सकारात्मक सुधारको थालनी भएको उल्लेख गर्नुभयो ।

मन्त्री किरातीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई गौरव गर्न लायक ध्वजाबाहक बनाउने आफ्नो अठोट निरन्तर रहेको उल्लेख गर्नुभयो । उहाँले निकै कमजोर अवस्थामा रहेको निगमको अवस्था सुधारेर निगमको धुमिलिएको शाखलाई उँचो बनाउन प्रयास गर्ने उद्घोष गर्नुभएको थियो ।
     
पर्यटनमन्त्री किरातीले निगमको संरचनागत सुधार र प्रतिस्पर्धी बजारमा व्यावसायिक फड्को मार्ने गरी केही कार्ययोजना अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले निगमको आन्तरिक उडानका लागि तीन जहाज खरिद गर्ने अन्तिम चरणमा पुगेको बताउनुभयो । अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारोबडी जहाज भाडामा ल्याउने र क्षेत्रीय उडानका लागि साना जहाज पनि सोही प्रक्रियाबाट ल्याउने गरी काम सुरु गरिएको उहाँको भनाइ थियो । वर्षौंदेखि ग्राउण्डेड चिनियाँ जहाजको बिक्रीका लागि बोलपत्र आह्वान गरिसकेको मन्त्रीको प्रगति विवरणमा उल्लेख छ । यस्तै काठमाडौँबाट अष्ट्रेलियाको सहर सिड्नी उडानको अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । उहाँले निगमको ऋणको साँवा र ब्याजबापतको करिब रु चार अर्ब किस्ता भुक्तानी गरिएको छ ।
     
    पर्यटनमन्त्री किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सक्रिय बनाई  युरोपेली सङ्घ (इयू) ले नेपालको हवाई उडानमाथि लगाएको प्रतिबन्ध हटाउन विभिन्न प्रयास भइरहेको बताउनुभयो । इयूको अडिट प्रतिवेदनको १२ बुँदे सुझावअनुरुप हवाई सुरक्षा र सेवा सुधारका लागि सबै संयन्त्रले काम गरिरहेको मन्त्री किरातीको भनाइ थियो । 
     
उहाँले श्री पशुपतिनाथ हिन्दू विश्वविद्यालय, पर्यटन विश्वविद्यालय र रैथाने विश्वविद्यालयको अध्ययन अघि बढाइएको र पर्यटन विश्वविद्यालयको मस्यौदा तयार भइसकेको जानकारी दिनुभयो । लुम्बिनीको तिलौराकोटलाई विश्वसूचीमा सूचीकृत गर्ने अन्तिम तयारी भएको पनि मन्त्री किरातीले बताउनुभयो ।
     
पुरानो गाउँको खोजी, नयाँ गन्तव्य प्रवद्र्धन, सम्पदा र संस्कृति संरक्षण तथा प्रवद्र्धनका काम अगाडि बढाइको उहाँको भनाइ छ । सरकारले घोषणा गरेको पर्यटन दशक कार्यान्वयनका लागि कार्यक्रम तय गरिएको पनि उहाँले जानकारी दिनुभयो । त्यस्तै, पर्यटन ऐन, संस्कृति ऐनलगायत नीतिगत सुधारका काम प्राथमिकताका साथ लैजाने मन्त्रालयले जनाएको छ ।
     
मन्त्रीको एकवर्षे प्रगति विवरणमा हवाई सुरक्षा अभिवृद्धि भएको, सम्पदा सरसफाइ अभियान प्रभावकारी बनाइएको, नेपाल तथा रुवान्डाबीच हवाई सेवा सम्झौता सम्पन्न भएको छ । स्वीट्जरल्याण्ड र इण्डोनेसियासँग द्विपक्षीय हवाई सम्झौताको प्रक्रिया अघि बढाइएको उल्लेख छ । 

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । योसँगै सरकारको वर्ष २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पूरा भएको छ । अर्को वर्ष दोब्बर सङ्ख्यामा पर्यटक भित्र्याउने सरकारले घोषणा गरिसकेको छ ।

बुधबार ३ माघ २०८० ०८:२३ PM मा प्रकाशित

प्रतिक्रिया