×

छिट्टै माओवादी धाराहरू एकताबद्ध हुनेछन् र शक्तिशाली माओवादी आन्दोलन फेरि सृष्टि हुने छ- प्रचण्ड

images

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान निर्माणका बखत आफ्नो पार्टीले फरक मतका रूपमा दर्ज गरेका शासकीय स्वरुप, निर्वाचन प्रणाली र पहिचानको मुद्दाका लागि नयाँ आन्दोलन अघि बढाइने बताएका छन्।

माओवादी केन्द्र काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिको चौथो भेला तथा प्रशिक्षणको आज यहाँ उद्घाटन गर्दै उनले मुलुक अब यथास्थितिमा चल्न नसक्ने भएकाले ती मुद्दा उठाउन पुनःआवश्यक भएकामा जोड दिए।

‘हामीले संविधान जारी हुँदा जे ‘नोट अफ डिसेन्ट’ लेखेका थियौँ, ती पूरा नहुँदासम्म देशमा राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिले गति नलिने विगतको अनुभवले देखाइसकेको छ,’ अध्यक्ष दाहालले भने, ‘त्यसैले मैले नयाँ प्रतिबद्धताका साथ योपल्ट नयाँ आन्दोलनको सृष्टि गर्ने संकल्प लिएको छु।’ उनले अब आफ्नो पार्टीको नेतृत्वमा हुने आत्मनिर्भर अर्थतन्त्रसहित नयाँ समाजवादी आन्दोलनमा साथ दिन सबैमा अपिल पनि गरे।

पार्टी छाडेर बाहिर बसेका पूर्वसहकर्मीलाई गोलबन्द गरी समाजवादी अभियान अघि बढाउन सकारात्मक पहल भइरहेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भने, ‘छिट्टै माओवादी धाराहरू एकताबद्ध हुनेछन् र शक्तिशाली माओवादी आन्दोलन फेरि सृष्टि हुने छ।’

आफूले नेतृत्वले गरेको पहिलो सरकारले भौतिक पूर्वाधारका रुपमा मध्यपहाडी लोकमार्ग र उत्तर–दक्षिण कोरिडोर निर्माणको थालनी गरेको, गरिब किसानको ऋण मिनाहा गरेको, दोस्रो कार्यकालमा मुलुकलाई लोडसेडिङबाट मुक्त गरेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले तेस्रो कार्यकालमा थालनी गरिएका सुशासनको अभियान अब निरन्तर अघि बढ्ने स्पष्ट पारे।

माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेपालले सबै मित्र राष्ट्रसँग समदूरीको सम्बन्ध राखेर जान सक्नुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले नेतृत्वको पूर्ववर्ती सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध विकासमा महत्त्वपूर्ण फड्को मारेको जिकिर गरे।

साथै उनले आफूहरु प्रमुख विपक्षी दल रहेको र यो सरकार तलमाथि भएमा आफूहरुकै सरकार बन्ने दाबी गरे । ‘०६४ पछि धेरैले प्रचण्ड भन्दा ठूलो नेता बन्ने रहर गर्नुभयो, अहिले हालत देख्नुभएको छ, तर अहिले फेरि सबै माओवादी धाराहरु प्रचण्डको नेतृत्वमा मात्र एकतावद्ध हुन सकिन्छ भनेर आउनुभएको छ’, उनले भने ।

तीबाहेक नागरिक समाजका थुपै्र व्यक्ति, कांग्रेस र एमालेमा आस्था राख्ने वुद्धिजीविहरुले पनि एक पटक प्रचण्डले आन्दोलनको अगुवाइ गरिदिनुपर्‍यो भनेर आफूलाई आग्रह गरेको उनले बताए ।

‘यही हलमा हो मैले ३२ को संख्यालाई जादुको संख्या भयो भनेको थिएँ, मेरो भनाइले उनीहरुले उद्धेलित र तरंगित भए होलान् । मैले त्यो नभनेको भए पनि हुन्थ्यो होला’, प्रचण्डले भने, ‘अहिले पनि हाम्रो संख्या म्याजिक नै छ । किनभने हामी ३२ भएको हुनाले प्रमुख विपक्षी दलको नेता छ हाम्रो पार्टी त्यो भनेको गभरमेन्ट इन वेटिङ हो, पर्खिराखेको सरकार भन्छ । यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो त्यसैले चिन्तित हुने कुरा छैन ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले माओवादी विभाजनबाट बनेका धेरै पार्टीहरु फेरि एकतावद्ध हुने बताए । कतिपयसँग वार्ता भइरहेको र एकता गर्न हतार गरिरहेको तर कतिपयसँग कुराकानी चलिरहेको उनले बताए ।

शनिबार १ मंसिर २०८१ ०८:५४ PM मा प्रकाशित

प्रतिक्रिया