काठमाडौं । भैंसेपाटीकी तत्कालीन प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ । हनी ट्र्यापमा पारेर पैसा असुल गरेको घटनामा उनको समेत संलग्नता देखिएपछि ललितपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको हो। उनलाई
बलात्कार मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उनलाई १० असोजमा जिम्मेवारीबाट हटाएको थियो । र, घटनाबारे जिल्ला प्रहरी परिसर, ललितपुरले छानबिन थालेको थियो ।
छानबिनका क्रममा ‘केही कैफियत’ देखिएपछि शाहीलाई हिरासतमै राखेर थप अनुसन्धान गर्ने निर्णयमा प्रहरी पुगेको हो । उनीलाई पक्राउ गर्न अदालतले अनुमति दिइसकेको ललितपुर प्रहरीका एक उच्च अधिकृतले पनि बताए ।
‘हनी ट्यापिङ’मा पारेर असुली गर्ने समूहसँग उनको शंकास्पद सम्बन्ध रहेको पाइएपछि उनलाई निलम्बन गर्न समेत सिफारिस गरिएको थियो । उनी समेतको मिलेमतोमा एक जना व्यवसायीलाई बलात्कारको मुद्दामा फसाउने भन्दै ३० लाख रुपैयाँ लेनदेन भएको खुलेपछि परिसरले डिएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन समिति बनाइएको थियो। उनलाई निलम्बन गरी छानबिन गरिएको थियो।
छानबिन समितिले पनि शाहीको संलग्नता देखिएको भन्दै मुद्दा नै चलाउन राय दिएको थियो। त्यसअनुसार नै प्रहरी परिसरले अनुसन्धान अघि बढाएको देखिएको हो।
अहिलेसम्म यस घटनामा चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा सुष्मा विक, ताज मुल इस्लाम, भिमादेवी थापा र प्रहरी सहायक हवल्दार महेन्द्र हमाल छन्। प्रहरीले उनीहरूमाथि आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको बताएको छ।
प्रतिक्रिया