×

सुदूरपश्चिमको मुख्यमन्त्री हामीलाई नदिए सत्ता गठबन्धनमा संकट आउछ - नेता झलनाथ खनाल

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । भेटवार्ता नेता खनालले सुदूरपश्चिमको मुख्यमन्त्री पहिलो चरणमै आफूहरुलाई नदिए सत्ता गठबन्धनमा संकट आउने चेतावनी दिएका छन् । प्रधानमन्त्री प्रचण्डले भने आज साँझसम्म ‘मिलाउने’ आश्वासन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ समेत सहभागी थिइन् । तीन नेताबिच एक घण्टा बढी समय छलफल भएको छ । सुदूरपश्चिममा एकीकृत समाजवादीले कांग्रेससँगको सहकार्यमा उभिने निर्णय गरेपछि सत्ता साझेदार दलमा हलचल पैदा भएको छ ।

उनले सत्ता गठबन्धनमा भएको सहमति अनुसार सुदूरपश्चिमको मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने बताएका थिए । गठबन्धनको सँस्कृति र मर्मअनुसार अघि बढ्न आग्रह गर्दै झलनाथले ‘सहमति गर्ने तर कार्यान्वयन नगर्ने कुराले हेपिएको महसुस भएको बताएका थिए । ‘हालका सत्ता साझेदार दलबिचको सहकार्य र सुदूरपश्चिम घटनाक्रमबारे छलफल भयो’, प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तापछि नेता खनालले भने, ‘समीकरणमा जुन समस्याहरू देखा परेका छन् ।

समीकरणको एकतालाई समझदारीयुक्त बनाउनुपर्ने, सबैको सम्मान र समानतालाई ध्यानमा राखेर अघि बढ्नुपर्छ, सवैका हितलाई प्रतिविम्ब गर्ने गरी अघि बढ्नुपर्छ । ’ एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीको पहिलो कार्यकाल आफूहरूले नेतृत्व गर्न पाउनुपर्ने अडान राख्दै आएको थियो। तर, प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नाउपालाई दिएपछि एकीकृत समाजवादी असन्तुष्ट बनेको हो।

सोमबार सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीको दाबी परेका थियो। लक्ष्मणलाई नेपाली कांग्रेस, एकीकृत समाजवादीको समर्थन छ भनेर कैलाशलाई नेकपा (एमाले), माओवादी केन्द्रलगायतको समर्थन छ। सुदूरपश्चिम प्रदेशमा नेकपा एसले प्रदेशमा नयाँ सरकार गठन गर्न विद्रोह गरेको थियो ।

नयाँ सरकार गठन गर्न नेकपा एस कांग्रेस समर्थित नयाँ समीकरणमा सहभागी भएपछि सत्ता गठबन्धनमा तरंग पैदा भएसँगै प्रधानमन्त्री दाहाल र खनालबीच छलफल भएको हो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै रुष्ट छन् । 

सुदूरपश्चिममा बैशाख २ सम्म मुख्यमन्त्रीको दाबी पेस गर्न त्यहाँका प्रदेश प्रमुखले समय दिएका थिए । त्यसपछि नाउपाका दुई सांसदले फरक फरक समीकरणमार्फत मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

मङ्गलबार ४ बैशाख २०८१ ११:०६ AM मा प्रकाशित

प्रतिक्रिया