×

वाग्मती किनारको सुकुम्बासी समस्या समाधानका लागि समिति गठन गरिने

images


अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले थापाथली र सिनामङ्गल क्षेत्रको नदी किनारमा अव्यवस्थितरूपमा बसेकालाई हटाउन समिति गठनको तयारी गरेको छ ।

     सुकुम्बासीका प्रतिनिधिसँगको छलफलमा भएको सहमतिअनुसार नदी किनारको अव्यवस्थित बस्ती हटाउन समिति गठन गर्ने सहमति भएको समितिका सूचना अधिकारी कमल अर्यालले राससलाई जानकारी दिनुभयो । समितिमा सुकुम्बासीका एक जना प्रतिनिधिलाई पनि समावेश गराइने भएको छ । समितिका सञ्चालक सदस्यको संयोजकत्वमा विज्ञसहितको समिति गठन गरेर समस्या समाधानमा काम गर्ने तयारी भएको छ ।

     वाग्मती किनारका सुकुम्बासीलाई व्यवस्थापन गर्न इचङ्गुनारायणमा पाँच वर्षअघि नै सरकारले भवन बनाए पनि सार्न सकेको छैन । बनेका भवन प्रयोगविहीन बनेका छन् । यसअघि समितिले माघ दोस्रो साता सार्वजनिक सूचना प्रकाशन गरी एक हप्ताभित्र वाग्मतीको गुह्येश्वरीबाट थापाथली पुलसम्म स्वीकृति नलिई बनेका संरचना हटाउने समय दिएको थियो । 
 
    यस क्षेत्रमा समितिको स्वीकृति नलिई १३ संरचना निर्माण भएको सूचना अधिकारी अर्यालले बताउनुभयो । त्यसमध्ये एउटा संरचना निर्माणकर्ता पक्षले भत्काएका छन् । बाँकी १२ संरचना निर्माणकर्ताले पनि केही दिनमा आफैँ भत्काउने प्रतिबद्धता जनाएकाले समय दिइएको समितिले जनाएको छ । स्वीकृति नलिई बनाएका संरचना भत्काउन समितिले माइकिङमार्फत समेत जानकारी गराइसकेको छ ।

     गोकर्णबाट गुह्येश्वरीको नदी किनारमा स्वीकृति नलिई भत्काइएका करिब दुई दर्जन संरचना यसअघि नै समितिले भत्काइसकेको छ । वाग्मती किनारको चोभारसम्म स्वीकृति नलिई बनेका संरचना भत्काएर सौन्दर्य अभिवृद्धि कार्यक्रम अघि बढाइने जनाइएको छ ।

बुधबार ४ फागुन २०७८ ०८:५४ PM मा प्रकाशित

प्रतिक्रिया