×

एमाले महाधिवेशन : अध्यक्षमा ओली र पोखरेलको भिडन्त, अन्तिम नामावली साढे ८ बजे सार्वजनिक गरिने

images

काठमाडौं । एमालेको भावी अध्यक्षका लागि केपी शर्मा ओलीले मनोनयन दर्ता गराएका छन् । एमालेको ११औं महाधिवेशन गत मंसिर २७ गतेदेखि जारी रहेको छ । निर्वाचन कार्यतालिकाअनुसार आज उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा एमालेको ११औं महाधिवेशनको बन्दसत्र जारी रहेको छ । महाधिवेशन स्थलमा पुगेर ओलीले उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि ओलीले दुई कार्यकाल एमालेको अध्यक्ष भएर भूमिका निर्वाह गरिसकेका छन् । यसपटक उनी तेस्रो पटक अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

ओलीसँग वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेलले पनि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदमा ओली र पोखरेलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।  महासचिव पदका लागि वर्तमान महासचिव शङ्कर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुँदै छ । पोखरेल संस्थापन पक्षका उम्मेदवार हुन् भने पाण्डे इतर पक्षका ।

दुवै पक्ष प्यानलसहित चुनावी मैदानमा छ । ओली तेस्रो पटक अध्यक्ष बन्ने दाउमा हुँदा पोखरेल पूर्वराष्ट्रपति विद्या भण्डारीको साथ लिएर मैदानमा उत्रिएका हुन् ।  हिजोबाट सुरु भएको एमाले महाधिवेशनमा अहिले विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ। ११औँ महाधिवेशनमा भेला भएका २२६३ प्रतिनिधिले ३०१ सदस्यीय कमिटी चुन्दै छन् । 

यस्तै महाधिवेशनमा उम्मेदवारको अन्तिम नामावली आजे राति साढे ८ बजे बजे प्रकाशन गरिने भएको छ ।  निर्वाचन आयोगले एक सूचना जारी गर्दै साढे ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो । उम्मेदवारउपर उजुरी लिने समय ७ देखि ८ बजेसम्म तोकिएको छ । 

आयोगले जारी गरेको तालिका अनुसार बुधबार मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्म विद्युतीय मेशीनमा मतदान हुनेछ ।

सोमबार ३० मंसिर २०८२ ०७:३० PM मा प्रकाशित

प्रतिक्रिया