काठमाडौं - टिकटकले १८ वर्ष मुनिका प्रयोगकर्तालाई ब्युटी फिल्टर प्रयोग गर्न प्रतिबन्ध लगाउने भएको छ । अनलाइन ब्युटी फिल्टरहरूको प्रयोगले आत्मसम्मान घट्दै गएको र मानसिक स्वास्थ्यमा असर बढ्दै गएको भन्दै टिकटकले ब्युटी फिल्टरहरूमा कडा प्रतिबन्ध लगाउन लागेको हो ।
टिकटकको प्रेस विज्ञप्ति अनुसार आँखा ठूलो देखाउने, ओठ मोटो बनाउने, छालाको रङ मुलायम बनाउने जस्ता ब्युटी फिल्टर किशोरीहरूले प्रयोग गर्न सक्ने छैनन् । वास्तविक मेकअपबाट नभई कृत्रिम तरिकाको मेकअपबाट हुने परिवर्तन रोक्न यस्तो कदम चालेको टिकटकले जनाएको छ ।
कम्पनीका अनुसार यो प्रतिबन्ध आगामी सातादेखि लागू हुनेछ । तर टिकटकले खरायोको कान र कुकुरको नाक जस्ता फिल्टरमा भने प्रतिबन्ध लगाएको छैन । यो नयाँ नियम भने प्रयोगकर्ताले एपमा राख्ने उमेर अनुसार लागू हुनेछ ।
एपले बालबालिकाको मानसिक स्वास्थ्यमा प्रभाव पारेको विषयमा टिकटकले सरकारी संयन्त्रबाट पटक-पटक चेतावनी पाइरहेको छ । यसले गर्दा कम्पनीले यस वर्षको अन्त्यसम्ममा १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूलाई प्लेटफर्मबाट हटाउन कडा प्रणाली अपनाउने तयारी गरिरहेको बताइएको छ । यसपछि भने प्रयोगकर्ताले उमेर झुटो राखे पनि स्वतः प्रतिबन्ध लागु हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया