काठमाडौँ- काठमाडौँ महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमण गरेर बनाइएका संरचना हटाएको छ। चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचनामा शुक्रबार महानगरपालिकाले डोजर चलाएको हो। चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउने कार्यअन्तर्गत शुक्रबार यस क्षेत्रमा डोजर चलाइएको महानगरले बताएको छ।
सडक विभागका अनुसार अतिक्रमण गरेर सडक सीमामा बनेका घरहरूलाई स्थानीय सरकारको अग्रसरतामा हटाउन लागिएको हो। शुक्रबार महानगर प्रहरीको टोलीले गौशाला प्रहरी बिट अगाडिका चार-पाँच वटा घरमा डोजर चलाइसकेको महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए।
उनकाअनुसार चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरी बसेका स्थानीयको घरमा डोजर चलाइएको हो। 'अहिले अतिक्रमित चार-पाँच वटा घरहरूमा डोजर चलाएका छौं,' उनले भने, 'अझै अन्य घरहरूमा पनि चलाइने छ।'
जेठ ६ गते अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काउन सूचना जारी गरिएता पनि खाली नगरेपछि महानगरले डोजर चलाएको बताएको थियो। तर लामो समय बित्दा पनि नहटाएपछि महानगरले डोजर चलाइसकेको छ। अतिक्रमित संरचना भत्काउन खोज्दा स्थानीयले अवरोध गर्दा सामान्य धकेलाधकेलका स्थिति भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रतिक्रिया