×

सहकारीको बचत रकम अपचलन प्रकरण- रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो

images

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देहीको बुटवलबाट कास्कीको पोखरा लगिएको छ। बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा मंगलबारदेखि जारी बयान बिहीबार राति सकिएपछि लामिछानेलाई आज पोखरा लागिएको हो।

बयानका क्रममा प्रहरीले लामिछानेलाई मंगलबार, बुधबार तथा बिहीबार गरि तीन दिनमा साढे २३ घण्टा बयान लिएको थियो। पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ।

शुक्रबार बिहान पठाउने तयारी गरेको भएपनि मौसम खराबीका कारण दिउसो १ः४५ को यति एयरको जहाज मार्फत पोखरा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रञ्जित सिंह राठौरले दिउँसो पौने २ बजेको जहाजमार्फत लामिछानेलाई पोखरा पठाइएको जानकारी दिए।

पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा कात्तिक २ गते पक्राउ परेका लामिछाने बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनामा पनि संलग्न रहेको देखिएपछि प्रहरीले अनुसन्धानका लागि बयान लिन रुपन्देही ल्याएको थियो।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ।

लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो।

लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ।

शुक्रबार​ ३० कात्तिक २०८१ ०२:४५ PM मा प्रकाशित

प्रतिक्रिया